काठमाडौं, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले सुरक्षा थ्रेट महसुस गरेपछि उनको निवासमा सुरक्षकर्मीको संख्या बढाइएको छ । संसद्मा १३ सिट भएको छैटौं ठूलो दलको अध्यक्षबाहेक राणाको अर्को हैसियत छैन, तर उनको निवासमा पञ्चायतकालदेखि नै राज्यबाट सुरक्षाकर्मीको व्यवस्था गरिँदै आएको थियो । त्यो क्रम २०४६ सालको परिवर्तन र २०६५ सालमा गणतन्त्र स्थापना भएपछि पनि जारी छ । कुनै बाह्य शक्तिबाट भन्दा पनि पार्टीभित्रको आफ्नै गुटबाट सुरक्षा थ्रेट भएको महसुस राणले गरेका हुन् ।
समाचार स्रोतका अनुसार उनले दुई साताअघि काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष शिशिर धिताललाई निष्कासनको घोषणा गरेका थिए । विनाकारण निष्कासन गरिएपछि उनी काठमाडौं जिल्लाका १० वटा क्षेत्रीय अध्यक्षमध्ये आठजनालाई लिएर राणाको निवासमा डेलिगेसन गएका थिए । तर कुराकानीका क्रममा अध्यक्ष राणाले ‘भित्रभित्रै कमल थापातिर लागेको सूचना पाएकाले तिमीलाई निकालिदिएको हुँ, जानेको गर’ भन्दै हकारेपछि शिशिर धितालको कञ्चटबाट पसिना आउन थाल्यो । तत्काल रक्तचाप बढ्न थालेपछि काठमाडौंको बयोधा अस्पतामा पु¥याइयो, तर अस्पताल पु¥याउँदा उनको होस बन्द भइसकेको थियो । चिकित्सकले जाँच गरे पनि एकाएक रक्तचाप बढेका कारण ब्रेन ह्यामरेज भइसकेको जानकारी दिए । विनाकारण पदबाट निष्कासन गरेको र गम्भीर आरोपसमेत लगाएका कारण ब्रेन ह्यामरेज भएको थाहा पाएपछि धिताल परिवार राणासँग बदला लिने मनस्थितिमा देखियो । डाक्टरको अथक प्रयासपछि धितालको जीवन त बाँचेको छ, तर पुरै अपांग हुनेगरी ।
स्रोतका अनुसार पार्टीका निम्ति अहोरात्र खटेका आफ्ना पितालाई यो हालतमा पु¥याएको भन्दै उनका छोरा हेमन्त धिताल खुकुरी लिएर निस्केका छन् भन्ने सूचना ठाकुर शर्मा र बुद्धिमान तामाङले अध्यक्ष राणालाई दिए । यो सूचना पाएपछि अध्यक्ष राणाले सुरक्षा प्रशासन गुहारेर आफ्नो दरबारको सुरक्षा घेरा मजबुत मात्रै बनाएका छैनन्, दरबारबाट बाहिर निस्कनसमेत छाडेका छन् । यसरी मान्छेको ज्यानै जान सक्नेसम्मको हर्कत गरेकोमा राणासमक्ष बद्धिमान तामाङ र ठाकुर शर्माले आपत्ति जनाए र त्यसको प्रत्युत्तरमा राणाले आफ्नो पीए अमिर राणाले गलत सूचना दिएकाले यस्तो दुर्भाग्य भएको बताए । यो घटनापछि राणाले पीए अमिरलाई पदमुक्त गरिसकेका छन् । विगत २५ वर्षदेखि राणाको पीए रहेका अमिरले ठूलै विश्वास जितेका थिए । यसैगरी, राप्रपा नेपाल र राप्रपाबीच हुने भनिएको एकीकरण प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ । आइतबार दुवै पक्षबीच भएको सहमतिका आधारमा वार्ता स्थगित गरिएको हो । पदीय बाँडफाँट र राजसंस्था पुनर्बहालीको मुद्दामा कुरा मिल्ने अवस्था नरहेपछि एकता वार्ता स्थगित गरिएको बुझिएको छ ।
पशुपतिलाई सुरक्षा थ्रेट






