न्युयोर्क ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ। ७२ वर्षीय रोबर्टको न्युयोर्क अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको ट्रम्पले जानकारी दिएका छन्।
‘आज राति मेरा भाइ रोबर्ट बितेको खबर भारी मनले सार्वजनिक गर्दैछु। उनी मेरा भाइमात्र थिएनन्, सबैभन्दा मिल्ने साथी थिए। हामी उनलाई धेरै सम्झनेछौं, हामी फेरि भेट्ने छौं। उनको सम्झना मेरो मनमा सधैँ रहिरहनेछ। रोबर्ट, म तिमीलाई माया गर्छु। तिम्रो आत्माले शान्ति पाओस्,’ राष्ट्रपति ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।
रोबर्टलाई गत मार्चमा न्युयोर्कको माउन्ट सिनाइ अस्पतालको आइसियुमा राखिएको थियो। केही समय उपचार गरेपछि उनलाई निको भएको थियो। पछिल्लो समय उनको मस्तिष्कमा रक्तश्राव भएको बताइएको छ।
रोबर्ट ७४ वर्षीय दाजु डोनाल्डका एकदमै नजिक थिए। पछिल्लो समय उनले ट्रम्प परिवारबारे भतिजी म्यारीले प्रकाशन गर्न लागेको किताब रोक्नुपर्ने भन्दै मुद्दा हालेका थिए।
राष्ट्रपति ट्रम्पले शुक्रबार अस्पतालमा गएर रोबर्टलाई भेटेका थिए। ट्रम्पका तीन दाजुभाइमध्ये जेठा दाजुको ४३ वर्षको उमेरमा सन् १९८१ मा मृत्यु भएको थियो। अत्याधिक मदिरा सेवन गर्ने दाजुको अल्पायूमै मृत्यु भएपछि त्यसले ट्रम्पको जीवनमा गम्भीर प्रभाव पारेको थियो। त्यसपछि उनले कहिल्यै मदिरा सेवन नगर्ने बाचा गरेको पनि बताइन्छ ।






