सिड्नी ।
अस्ट्रेलियामा पुरातत्वविदहरुले २ हजार बर्षअघि खेती गरेको प्रमाण भेटेको दावी गरेका छन् । त्यहाँका मूलवासीहरूले प्राचीन समयमा केरा खेती गरेको स्थान फेला पारेका हुन्।
अस्ट्रेलियाको मुख्यभूमिको उत्तरमा टोरेस स्ट्रेट भनिने स्थानको सानो टापुमा २१४५ वर्ष पुरानो केरा खेती गरिएको ठाँउ भेटिएको हो जहाँ अनुसन्धानकर्ताहरूले केराको सूक्ष्म अवशेष, ढुङ्गाका औजार, अँगार र पर्खालको अवशेष फेला पारेका छन्।
उनीहरूका अनुसार यो अन्वेषणपछि अस्ट्रेलियाका मूलवासीहरू खालि शिकार गरेर जीविका चालाउँथे भन्ने यसअघिको धारणा मिथ्या प्रमाणित हुन सक्छ।
माबुयाग आईल्यान्ड नामक टापुमा फेला परेका अवशेषहरूको अनुसन्धानको नतिजा अस्ट्रेलियन न्याश्नल यूनिभर्सिटी र यूनिभर्सिटी अफ सिड्नीका अनुसन्धान टोलीले बुधवार सार्वजनिक गरेको बिबिसीले जनाएको छ ।
“हाम्रो अनुसन्धानले माबुयागमा बस्ने गेगमलगाल जातीय समुदायका मानिसहरूका पुर्खा कम्तीमा पनि दुई हजार वर्षअघि नै जटिल र विविधतापूर्ण खेती तथा बागवानी कार्यमा संलग्न थिए भन्ने देखाएको छ,“ प्रमुख अनुसन्धानकर्ता रबर्ट विलिअम्सले भने।






