कोरोनाको कारण महिलाको मृत्यु भएपछि आकस्मिक वैठक हुँदै
सोनी श्रेष्ठ, काभ्रेपलाञ्चोक
सोमबार ४ प्रहरी र १ युवामा कोरोना संक्रमण पुष्टी भएसँगै काभ्रेमा कोरोना संक्रमणको दर बढेको आशंका गर्न थालिएको छ ।
सोमबारको पिसिआर रिपोर्ट अनुसार संघिय प्रहरी कार्यालयका ३ प्रहरी, जिल्ला प्रहरी कार्यालयका १ प्रहरी र भुम्लु गाउँपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टी भएको हो ।
भुम्लु गाउँपालिका वडा नं. ६ का युवामा कोरोना संक्रमण पुष्टी भएसँगै गाउँपालिकाले उक्त क्षेत्रलाई सिल गरेको छ । सिल गरेको क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन, यातायात सञ्चालन र बिना कामकाज हिड्डुल गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
यसअघि बनेपा गोदामचोकको एक १२ वर्षिय बालकमा कोरोना संक्रमण पुष्टी भएसँगै सो क्षेत्रमा समेत नगरपालिकाले सूचना प्रकाशन गरि सिल गरिएको थियो ।
एक जनाको मृत्यु
यस्तै, पाँचखाल १ र २ को सिमानामा पर्ने गगलेमा एक ५० बर्षिय महिलाको कोरोना संक्रमणको कारण सोमबार मृत्यू भएको छ । ललितपुरको ग्वार्कोमा मूर्ति बनाउने काम गर्ने उनको छोराका साथीहरु घर आएका बेला ४–५ दिन अघि उनीहरुसँगै ट्याक्सीमा ललितपुर गएकी थिईन । उनलाई निमोनिया भएको भन्दै आईतबार उनका छोराले ग्वार्कोमा रहेको किष्ट अस्पताल भर्ना गरेका थिए । महिलाको सोमबार विहान ९ बजे मृत्यू भएको थियो ।


यस विषयमा आज पाँचखाल नगरपालिकाको आकस्मिक बैठक बसि के गर्ने भन्ने विषयमा छलफल गर्ने र कोरोना संक्रमण पाँचखालमै भएको हो की काठमाण्डौ गएर भएको भन्ने विषयमा कन्ट्याक ट्रेसिङ नगरी थाहा नहुने भएकोले त्यस क्षेत्र तथा वरपरका स्थानीयवासीहरुमा सजगता अपनाउन अनुरोध गरेको पाँचखाल नगर प्रमुख महेश खरेलले जानकारी दिए ।






