सोनी श्रेष्ठ, काठमाण्डौ ।
गोंगबु हत्याकाण्डमा संलग्न भएको आरोपमा कल्पना शाहीलाई चितवनमा पक्राउ गरिएको छ भने हत्यामा संलग्न भएको उनले स्विकार गरेकी छिन् ।
शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको र बियरको नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको बयान दिएकी प्रहरीले जनाएको छ ।
त्यस रात कृष्णबहादुर ती महिलाकै घरमा बस्ने गरी गएको पनि अनुसन्धानबाट खुलेको छ । दही खाएपछि कृष्णबहादुर बेहोस भएका कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरिन्छ । हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राख्छिन् । टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर बाहिर निस्किन्छिन् ।
त्यसपछि कोठामा आएर फेरि टाउको र खुट्टा भएको प्लास्टिक बोकेर बाहिर जान्छिन् । बोहराको मृतक शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खुकुरी प्रयोग गरेको प्रहरी स्रोतले बतायो । उनी भागेर माइती गएको बेला सोमबार दिउँसो टाडीबाट पक्राउ परेकी हुन् ।
चितवनको टाँडीबाट पक्राउ गरी काठमाडौं ल्याइएकी ती महिलाले आफू नै हत्यामा संलग्न भएको स्वीकारोक्ति बयान दिएकी छिन् । हत्या गरेर आइतबार आफू काठमाडौंबाट भागेर चितवन पुगेको ती महिलाले बयानमा भनेकी छिन् । महिला बस्ने कोठाबाट प्रहरीले मृतकका गञ्जी र भित्री वस्त्र पनि बरामद गरेको छ । आफूले हत्यामा प्रयोग गरेको खुकुरी पनि महिलाले प्रहरीलाई देखाएकी छिन् । प्रहरीका अनुसार महिलाले हत्या गर्दा हातमा पञ्जा लगाएकी थिइन् । हत्या गरिएका पुरुष विवाहिता भएको र हाल उनी काठमाडौंमा एक्लै बस्दै आएको पनि अनुसन्धानबाट खुलेको छ । मंगलबार बिहान साढे १० बजे महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले संयुक्त पत्रकार सम्मेलन गरी हत्यासम्बन्धी विवरण सार्वजनिक गर्दे छ ।
घनावस्तीको बिचमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेपछि मृतकको तस्वीर सञ्चारमाध्यमबाट सार्वजनिक गरिएको थियो । सोही तस्वीरका आधारमा महानगरीय प्रहरी वृत महराजगञ्जमा आइपुगेका उनका मामाको भनाई अनुसार कृष्ण बहादुर नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे । सोही क्लूको आधारमा प्रहरी हत्या भएको घरसम्म पुगेको थियो । मध्यरातमा भएको यस घटनाबारे घरधनीले मध्यरातमा त्यस्तो आवाज आफूले नसुनेको बताएका छन् ।






