तक्दीर अधिकारी, सिड्नी ।
विनर सर्कल मिडियाले अस्ट्रेलियाको सिड्नीमा नेपालीहरुले गरिरहेका व्यापार व्यवसायहरुमा निशुल्क सेनिटाइजेसन अर्थात सरसफाइ गरिदिने भएकोे छ ।
कोरोना भाइरसको संक्रमण हुन नदिनको निम्ती संस्थाको पहलमा डिस्इन्फेक्टेन्ट गर्ने कार्य शुरु गर्न लागिएको हो । आउने शुक्रवार बाट डिस्इन्फेक्टेन्टको काम शुरु गरिने र सुरुवातमा अवन क्षेत्रमा रहेका नेपाली व्यवसायलाइ सेनिटाइज गरिने संस्थाका प्रशासकिय अधिकृत रोशन खतिवडाले जानकारी दिए । यस क्षेत्रमा सेनिटाइज गरीसकेपछि सिड्नीका अन्य क्षेत्रमा पनि गरिने उनको भनाइ छ ।
‘हामी हाम्रो समुदाय र मानिसहरुको हेरचाह गर्छाै अर्थात वि केयर अबाउट आवर कम्युनिटि, वि केयर अबाउट आवर पिपल’ भन्ने मुख्य नारा सहित यो अभियान सुरु गरेको खतिवडाले बताए ।
‘विशेष गरी नेपालीहरुले सञ्चालन या किनमेल गर्ने व्यापारा व्यवसायहरुमा कोभिड १९ रोगको जोखीम न्युनिकरण गर्नको निम्ती यो अभियान थालिएको हो’ उनले भने, ‘सेनिटाइज गर्दा व्यापारिक समयमा असर नपुग्ने गरी खाली समयमा गरिदिन्छौ, यो निशुल्क सेवा हो’ ।
संस्थाका सदस्य सन्देश कार्कीको सहयोगमा डिस्इन्फेक्टेन्ट गर्न लगीएको हो । कार्की सँग यस कार्य गर्नको निम्ती आवश्यक पर्ने यन्त्रउपकरण र केमिकल रहेको कारण पनि सरसफाइ अभियान सञ्चालन गर्न सजिलो भएको हो ।
यसअघि पनि यसै संस्थाले कोरोना महामारीले अर्थतन्त्र प्रभावित भएपछि समस्यामा परेका ७० जना नेपाली विद्यार्थीलाई राहत पनि वितरण गरेको थियो ।
प्रिमो एजुकेशन सर्भिसेजको सहयोगमा सिड्नी वरपर रहेका नेपाली विद्यार्थी हरुले राहत पाएका थिए ।
‘स्टुडेन्ट एड २०२०’ को नाममा सञ्चालित उक्त सहयोग कार्यक्रम झन्डै महिना दिनसम्म सञ्चालन भएको थियो ।
विनर सर्कलले सधैं नै नेपाली विद्यार्थीको हितमा काम गर्ने अधिकृत खतिवडाले बताए ।






