भीएफएमले करिब २२ सय विद्यार्थीलाइ खाद्य सामग्री वितरण गर्याे, अध्यक्ष श्रेष्ठले पाए सिसा अवार्ड

 तक्दीर अधिकारी सिड्नी ।
कोरोना भाइरसको संक्रमणले समस्यामा रहेका विद्यार्थीलाई भिजन फर मोटिभेसन (भीएफएम) ले खाद्य सामाग्री वितरण गरेको छ । महामारी शुरु भए यता विभिन्न चरणमा गरि २ हजार १ सय ८२ जना अन्तराष्ट्रिय विद्यार्थीहरुलाइ खाद्य सामग्री वितरण गरिएको संस्थाका संस्थापक महेश प्रसाईं (म्याक्स बाबु)ले जानकारी दिए ।
नेपाली तथा गैर नेपाली ब्याबसायहरुको सहयोगमा १ लाख ३९ हजार २ सय ३० डलर बराबरको खाद्य सामग्री वितरण गरिएको हो । राहत पाउनेहरुमा नेपाली सँगै, भारत, बगंलादेश, पाकिस्तान लगायत देशका विद्यार्थीहरु छन् । भीएफएमले अहिलेसम्म न्यू साउथ वेल्स राज्यमा समस्यामा रहेका विद्यार्थीहरुलाइ वितरण गरेको खाद्यान्न सामग्रीमा पाँच केजी चामल, दाल, चना, चिउरा ,१ बोतल पानी ,अन्डा, आलु र सिंगो लोकल कुखुरा संलग्न थियो ।  संस्थाले वितरण गरेको खाद्यान्न सामग्री स्टोर गर्न दिएर एभरेस्ट बुचरी रहेको भवनका मालिक श्याम रन्जनोले सहयोग गरेका थिए ।
प्रत्येक आइतबार १ बजेदेखि ३ बजेसम्म खाद्य सामाग्री वितरण गरिएको थियो । ‘हाललाइ यो हप्तादेखी खाद्यान्न वितरण अभियान रोकेका छौँ’ प्रसाइले भने ‘तर समस्यामा परेका विद्यार्थीहरुलाइ जहिले पनि सहयोग गर्न तत्पर रहनेछौ, विद्यार्थीले जतिवेला सम्पर्क गर्दा पनि हुन्छ’ । उनले करिब २ सय विद्यार्थीको निम्ती अझै पनि खाद्यान्न उपलब्ध गराउने सकिने उनले बताए ।

अध्यक्ष श्रेष्ठले पाए सिसा अवार्ड

भिएफएमको स्थापना काल देखी नै समस्यामा परेका विद्यार्थीहरुलाइ रोजगारी प्रदान गर्ने तथा प्रेरणादायक तथा सचेतनाका विभिन्न खालका कार्यक्रमगरी अष्ट्रेलियाका विद्यार्थीहरुलाइ सहयोग पुर्याउने कार्य गरिरहेको छ।  राहत सहयोग अभियानमा भीएफएमका अध्यक्ष रमेश श्रेष्ठ लामो समय देखी प्रत्यक्ष तथा  अप्रत्यक्ष संलग्न छन् । संस्थाद्धारा महामारीको समयमा सहयोग र राहत वितरणमा निभाएको भुमिको प्रशंसा गर्दै संस्थाका अध्यक्ष रमेश श्रेष्ठले काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ड अस्ट्रेलियाले प्रदान गर्ने  नेशनल कन्फरेन्स अवार्ड २०२० र टेफ अवार्ड  समेत प्राप्त गरेका छन् ।
यिनै योगदानको मुल्याङ्कन गर्दै सहित सम्मान गरिएकोे होे । ‘प्रवासमा रहँदा हामी सबैलाइ धेरै समस्याहरु आइपर्छन, त्यसैले आफुले सक्ने सहयोग गर्ने आँट गरेको हुँ, मेरो हिम्मतलाइ यसले थप उर्जा मिल्छ  यसैगरी अगाडी बढ्न हौसला मिलेकोे छ।’ अवार्ड पाए पछि  श्रेष्ठले  भने ।

नया कार्यसमितिको गठनको तयारी

भिएफएमले यही महिनाको अन्तिम सम्म आफ्नो नया कार्यसमिति गठन गर्न लागेको छ । संस्थाको बार्षिक साधारण सभा तथा नया कार्य समिति गठनको तयारीमा व्यस्त हुनु परेको कारण खाद्यान्न वितरण कार्यक्रम बन्द गरिएको संस्थापक प्रसाइले जानकारी दिए । कोभिड १९ को महामारीकोे समयमा धेरै विद्यार्थी लाइ खाद्य सामग्री वितरण सँगै धेरै विद्यार्थीलाइ रोजगारी प्रदान गर्न सफल भएकोेमा उनले खुशी ब्यक्त गरे । अगष्टको अन्तिममा नया कार्यसमिति बनेपछि अन्य नया अभियानहरु लिएर आउने उनको भनाइ छ ।

सीपमुलक तालिम दिने तयारी

लामो समय देखी विद्यार्थीहरुको हक हितको निम्ती सक्रिय रुपमा काम गरेको भिएफएमले विद्यार्थी केन्द्रित सीपमुलक तालिमहरु सञ्चालन गर्न लागेको छ ।
नेपाली विद्यार्थीहरुलाइ केन्द्रमा रारखी कफी बारिष्ठा, जब रिडिङ्ग लगायतका धेरै सीपमुलक तालिमहरु प्रदान गर्ने तयारीमा रहेको र उक्त तालिममा सहभागी भइ अधिकतम लाभ उठाउन उपाध्यक्ष सुमन ओलीले आग्रह गरे । विद्यार्थीहरुलाइ स्वरोजगार बनाउनेले यी कार्यक्रमहरु अगाडी सारिएको संस्थाका सहसचिब कञ्चन शर्माले वताइन । संस्थासँग अध्ययनको निम्ती अस्ट्रेलिया आएका विद्यार्थीहरुको कलेज, कन्सलटेन्सी लगायतका विवरण रहेको छ । यसप्रकारको विवरण कही कतै आवश्यक परेको खण्डमा उपलब्ध गराउन सकिने संस्थाकी सचिब सुस्मिता बुढाथोकीले जानकारी दिइन् ।

विद्यार्थीको ढुकढुकी

लामो समय देखी विद्यार्थीहरुको हकहितमा योगदान दिएको भिएफएमलाइ विद्यार्थीहरुले आफ्नो ढुकढुकी बनेको बताउँछन् ।
 काभ्रेबाट अध्ययानको निम्ती यहाँ आएकी यामजुङ लामाले भनिन् – ‘महामारीको समयमा संस्थाले हामी विद्यार्थीहरुलाइ निकै सहयोग गर्याे, सो जटिल परिस्थिती मात्र नभएर यस अघि अन्य समयमा पनि भिएफमले साथ दिएको छ, मैले संस्थालाइ विद्यार्थीको ढुकढुकी जस्तै मानेकी छु’ ।
महोत्तरीका प्रकाश यादवले पनि भिएफएमको सक्रियताको खुलेर प्रशंसा गरे । ‘भिएफएम हाम्रो अभिभाबक हो’ उनले भने, ‘म जस्ता हजारौ विद्यार्थीहरुलाइ प्रेरणाको श्रोत र न्यु साउथ वेल्सका विद्यार्थीहरुको लागि आशाको ढुकढुकी बनेको छ, सदैव यस्तै भइरहोस’ । भिएफएमको यो कार्यमा नेपाली राजदुत महेश दाहालले समेत आभार ब्यक्त गरे । उनले संस्थाले नेपाली विद्यार्थीको अभिभाबकत्व निभाएको भन्दै यस्तै कदम जारी राख्न आग्रह गरे । खाद्य सामग्री वितरणमा खाद्यान्न, नगद दिएर सहयोग गर्ने सहयोग दाता र वितरण कार्यमा सहयोग गर्नेलाइ धन्यवाद दिदै भिएफएम कोषाध्यक्ष रोशन खड्काले नेपाली विद्यार्थीहरुलाइ आत्मनिर्भर बनाउन अभियान थालिएको बताए ।
अहिले सम्ममा खाद्य सामाग्री वितरण कार्यक्रममा एनआरएनए संस्थापक इन्द्रा वन, एनआरएनए उपाध्यक्ष मन केसी, एनआरएनए ओसियाना कोअर्डिनेटर होम पाण्डे, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङ, प्रवक्ता नन्द गुरुङ, पूर्वउपाध्यक्ष तथा झापाली समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, न्यू साउथ वेल्स बणिज्य दुत दिपक खड्का , नेपाली समाजका अध्यक्ष गणेश तामाङ, जेएनसीका अध्यक्ष जीतमान लिम्बू, ओएनएफका अध्यक्ष रमेश पाण्डे, अस्ट्रेलियन नेपाप्लिज जर्नालिस्ट एसोसिएसनका अध्यक्ष हेमन्त काफ्ले, सहअध्यक्ष ऋषि आचार्य, रकडेल नेपाली व्यवसायी संघका अध्यक्ष युवराज भट्टराई, मगर समाजका अध्यक्ष अनिल रानामगर, झापाली समाजका अध्यक्ष उमेश पोखरेल, गुठी अस्ट्रेलियाका संरक्षक पदम शाक्य, रुपन्देही सामाजिक नेटवर्कका मुक्तिराम पोखरेल, नारी निकुञ्ज बाट सन्ध्या शाह, सुकिर्ति भट्ट, डा. समीता गुरुङ, अञ्जु शाह, युएनए बाट सुनिता लिम्बु, निन्फा बाट चित्रा लिम्बु, जनसम्पर्क समिति अष्ट्रेलियाका इथान शाक्य, हिन्दु समाज बाट पण्डित प्रकाश दोहरी, विश्व शान्ती काउन्सिलबाट भिमसेन सापकोटा (राजन गुरु) लगायतको उपस्थिती रहेको  थियो ।
नेपाली समाजका लब्ध प्रतिष्ठित व्यक्ति बोलाएर राहत वितरण किन गरेको भन्ने लन्डन नेपालको जिज्ञासामा भीएफएमका संस्थापक प्रसाईले भने, ‘नेपाली समाजमा काम गरिरहेका अग्रजहरुलाई अगाडि राखेर आफूले काम गर्दा उहाँहरुबाट हौसला र प्रेरणा प्राप्त हुन्छ । त्यसले आफूलाई अझ ऊर्जाशील भएर टिमलाई चलायमान बनाउन सहयोग पुग्ने भएकाले अग्रज व्यक्तित्वका अगाडि राहत वितरण कार्यक्रम गरिएको हो ।’
कार्यक्रममा सहभागी पाहुना तथा राहत लिन आउनेलाई हातमा सेनिटाइजर गराउने, अस्टे«ेलियन सरकारले तय गरेको मापदण्ड पूरा गरिएको थियो । समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न भीएफएमको ढोका जहिले खुल्ला रहने भीएफएमका संस्थाक महेश प्रसाई (म्याक्सबाबु) ले बताए ।
यो संकटपूर्ण घडीमा आफू विद्यार्थी भएर पनि सक्रिय रहेका भीएफएमका सक्रिय सदस्य निश्चल कुवरले यसरी काम गर्न पाउँदा गर्व लागेको सुनाए । प्रत्येक कार्यक्रममा भीएफएमका गजलवाचक सुमन पौडेलले गजल सुनाएर सबैलाई मन्त्रमुग्ध बनाएका थिए ।