धमाधम सिल हुँदै काठमाण्डौका बस्ती, १८ जिल्लामा निषेधाज्ञा !

अनिश शर्मा गैरे,काठमाण्डौ

मुलुकमा कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीको संक्रमण समुदायस्तरमा देखिदै जानु र अन्य क्षेत्रमा पनि अत्यन्तै जोखिम बढेको भन्दै बिभिन्न क्षेत्रमा सिल गर्ने र निषेधाज्ञा जारी गर्ने क्रम बढेको छ ।
हाल देशमा लकडाउन भने खुकुलो बनाइएको छ ।

सार्वजनिक तथा निजि यातायातमा जोर विजोर प्रणाली लागू गरिएको छ । त्यसैगरी घना बस्ती भएको काठमाण्डौ उपत्यकामा प्रवेश गर्ने नाकामा पनि कडाइ गरिएको छ ।

हाल सरकारले दैनिक पिसिआर परिक्षणको संख्या पनि केही मात्रामा बढाइरहेको छ । र संक्रमितको संख्या पनि प्रतिदिन थपिदै गएको छ ।

१८ जिल्लामा कर्फ्यू

महामारीको तनाव बढ्दै जाँदा केही जिल्लाहरुले निषेधाज्ञा जारी गरेका छन् । हालसम्म ९ जिल्लामा पुर्ण रुपमा र बाँकी ९ मा केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएकोे छ ।
निषेधाज्ञा लगाउने जिल्लाको संख्या हरेक दिन बढिरहेका छन् ।

गृह मन्त्रालयका अनुसार पर्सा, बारा, नुवाकोट, सप्तरी, बाँके, सुनसरी, सर्लाही, स्याङ्जा र बर्दियामा जिल्लाभरि नै निषेधाज्ञा लगाइएको छ । भने धनुषा, महोत्तरी, सिराहा, जुम्ला, बझाङ, मोरङ, दार्चुला, झापा र कञ्चनपुरमा आंशिक रूपमा निषेधाज्ञा लगाइएको छ ।

काठमाण्डौका बस्तीमा धमाधम सिल हुँदै

काठमाण्डौका बस्ती तथा बजारमा संक्रमण देखिएका क्षेत्रमा प्रतिदिन सिल भइरहेको छ । शनिवार मात्रै काठमाण्डौको कोटल क्षेत्र सिल गरिएको छ ।

महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको हो ।

प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ । केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित उनको परिवारका पाँच जनामा कोभिड–१९ देखिएको थियो । त्यसपछि परीक्षण गर्दा घरभेटीलाई कोरोना पोजेटिभ देखियो ।

समुदायका २५ जनाको परीक्षणमा अन्य थप छ जनालाई समेत कोभिड–१९ पुष्टि भएपछि टोललाई सिल गर्नु परेको उनले बताए ।

यस अघि टेकु, महाबौद्ध क्षेत्र पनि सिल गरिएको छ । महाबौद्धमा केही दिन अघि ब्यापारीमा कोरोना देखिएको कारण बजार बन्द गरिएको थियो । त्यसैगरी व्यापारीमै कोरोना देखिएपछि काठमाण्डौको न्युरोड क्षेत्रका केही पसल तथा कार्यालयहरु पनि बन्द छन् ।

रोकिदै सरकारी सेवा

काठमाडौं जिल्ला प्रशासन कार्यालयले राहदानी र नागरीकता बितरण बन्द गरेका छन् ।
अत्याधिक भिडभाड बढेको कारण कोरोना संक्रमणको जोखीम पनि बढेको भन्दै काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दुइ हप्ताकोे लागि राहदानी बितरण र नागरीकता बितरण बन्द गरेको जानकारी दिए ।

‘भिडभाड अत्यन्तै बढेको कारण प्रशासन बन्द रहनेछन’ उनले भने ‘अत्यावश्यक परेका कामहरु मत्र हुनेछन्, १५ दिन जिल्ला प्रशासनबाट हुने सबै सेवाहरु स्थगन गर्ने निर्णय गरिएको छ’ ।

यसैगरी काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई साताको लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको छ।

यस अघि काठमाण्डौका केही यातायात कार्यालयहरुले लाइसेन्स वितरण पनि बन्द गरेको घोषणा गरिसकेका छन् ।

सरकारी कार्यालयमा अत्याधिक भिड हुने कारण बन्द गर्नुपरेको ती कार्यालयहरुले बताए । केही विज्ञहरुले काठमाण्डौलाइ लकडाउन नै गर्नुपर्ने भनेका छन् । सरकारले हाललाइ लकडाउनको मोडालिटि नबनाएको सञ्चारमन्त्री डा। युवराज खतिवडाले यस अघि बताइसकेका छन् ।

तर पनि प्रशासन पर्ख र हेरको अवस्थामा रहेको बुझिएको छ । हालसम्म देशमा कोेरोनाको कारण ७३ जनाले ज्यान गुमाएका छन् ।