खुशी लुट्नेहरू लाई सामाजिक बहिष्कार गरौँ, नत्र जन्मभुमिले सराप्ने छ

देशको माटो र समुदायको न्यानो मायाको मीठो सम्झना समुन्द्र पारीको भुमिबाट अलि बढी महशुस हुने गर्छ ।
अभिभावक र समाजको सामिप्यतामा हुर्कदै गरेको यउटा युवा आफू जन्मिएको हुर्किएको भन्दा फरक खालको समुन्नत समाज भित्र सुन्दर भबिष्यको मनभरी रहर र सपना बोकेर त्यस सपना भित्र परिवार र समाजको लागि खुशी बोकेर फर्कने सङ्कल्प सहित प्रवासी बन्दछ। यो हामी धेरै नेपालीको बाध्यता हो । हजार ठक्कर नखाई जीवन बुझिदैन भनेजस्तै, समुन्नत भविष्यका निम्ति कयौं युवाहरूले पाईला पाईलामा अनगिन्ती ठक्कर, दुख कष्ट सङ्ग जुधेर चाहना प्राप्तिको यात्रामा अनवरत अगाडि बढिरहेका छन्।
समयमा खान नपाउनु । २४ घण्टामा एक दुइ घण्टा सुत्नु । भोकभोकै हिड्नु । प्यास मेटाउन एक दुइ मिनेट परिवार सँग फोनमा झुम्मिनु । घर बाध्यता लुकाएर सुखको ढोङ गर्नु अनि रगतलाइ पसिनामा रुपान्तरण गरेवापत केही आर्थिक हातमा पर्नु आदि आदि ।
यहि हो प्रवासी जीवन जुन यात्रा आज हामी रहरले होस् या करलें गरिरहेका छौं। जुन कर्मभुमिलाइ जीवन भोगाइको रोजाई बनाएका छौ, नीति नियम र विधिले नियन्त्रित सुन्दर भुमि मानेका छौँ हामीले यसलाई । यहाँ धेरै मानव अधिकार को छुट हुन सक्छ तर आफ्नो खुशिको लागि अर्काको खुसी खोस्ने अधिकार यहाँ कसैलाई पनि छैन। यसैले त आज सयौं देशका हजारौं विद्यार्र्थीको सुन्दर भविष्यको पहिलो रोजाइ बनेको छ – अष्ट्रेलिया ।
आज हजारौं नेपाली विद्यार्थीहरुले कठिन सङ्गै सन्तुष्टि सहितको यात्रा यो माटोमा गरिरहेका छन्। विद्यार्थी जीवन अलि कष्टकर हुनु स्वभाबिक पनि हो। त्यसैमाथी हालको कोभिड १९ को कारण झनै भयावह बनेको छ विद्यार्थीको जीवन । विद्यार्थीका निम्ति यो विषम परिस्थितिमा उनीहरुलाई मात्र होइन समस्यामा परेका जोकोही लाई पनि सहयोग गर्ने ती हातहरू साच्चिकै महान छन।
यहीँ विषम परिस्थितिमा कमाउ धन्दा चलाउने आफ्नो खुसिका निम्ति अर्काको खुसी लुट्नेहरू पनि यदाकदा बेला बखत झुल्किरहेको देखिन्छ । त्यसैमा आफ्नै देशका दाजुभाइ दिदी वहिनीहरुको पसिनालाइ निमोठेर रमाउने कोशिस पनि हुने गर्छन । केहि दिन यता यस्तै ठगिका समाचार सुन्नमा आयो । जस्ले म स्वयंलाई मात्र होइन सिङ्गो नेपाली समुदायको शिर निहुराएको छ ।
यो त केबल प्रतिनिधि घटना मात्र हो यस्ता कैयन घटनाहरु पर्दा पछाडी धेरै हुन सक्छन्। हामी कल्पना गर्न सक्दछौ कि तत्कालीन अवस्थामा विद्यार्थीका लागि आर्थिक समस्या कति जटिल हुनसक्छ । सकिन्छ सहयोग गरौँ, सहानुभूति प्रकट गरौँ । सकिदैन कुनैपनि बहानामा ठग्ने फसाउने झुक्याउने नगरौं । यो भन्दा ठुलो कुनै अपराध हुन सक्दैन । एकदिन समयले धिक्कार्ने छ । जन्मभुमिले सराप्ने छ । कथित धन कमाउन अरुको जीवन माथी खेल्नेहरुलाइ दैवले पनि कदापी माफी दिने छैन । र ती दानवहरु कहिल्लै पनि माफीको लायक रहने पनि छैनन् ।
अमानवीय र तुच्छ मानसिकता बाट ग्रसित भइ ठगि गर्ने, झुक्याउने, शोषण गर्ने, जो कोहिलाई पनि सामाजिक बहिस्कार गरौँ ।
इन्साफ र सत्यको पक्षमा वकालत गरौँ । आफू सधैं असल बनौ ईमान्दारीता पुर्वक काम गरौँ । प्रवासमा नेपाली कोहि कसैबाट पीडित छ भने नेपालको कानुनले समेत प्रमाणको आधारमा न्याय माग्ने अधिकार सुरक्षीत गराएको छ।त्यसैले अन्याय सहेर पनि नबसौ । दबिएका आवाजहरू बोल्नै पर्छ ।अनिमात्र बाकी लाखौं आवाजहरू दबिने छैनन् ।
बिशेष गरि विद्यार्थी साथिहरू बाल मानसिकता बाट परिपक्व मानसिकतामा आउन अलि समय लाग्दछ। यो प्रकृतिको नियम हो। जतिबेला कैयन सपनाहरु अनगिन्ती चट्टान सङ्ग ठोक्किएर छियाछिया हुने गर्दछन्। त्यतिबेला परिस्थितिलाई सम्हालेर जीवनको यात्रालाई निरन्तरता दिन सकिएन भने, सुन्दर भविष्यको यात्राले बाटो बिराउनेछ। जो जीवनका लागि घातक हुनेछ ।
त्यसैले झन प्रवास को बसाइँमा पलपल पाइला पाइला सचेत र सजग हुने गरौं । सनातिना समस्या बाट कोहि पनि बिचलित नहौ। आखिर जिन्दगीको दौडमा जस्ले जित्छ, उहीँ उचाइमा पुग्ने न हो ।
त्यसैले जो जहाँ छौ ईमान्दारीताका साथ लागिर हौ। हाम्रो लापरवाहीले पनि समुदाय र देशको नामलाई बद्नाम हुने काम हुन सक्दछ । त्यसैले यस्ता काम कोहि कहिबाट नगरौ। एक दिन समय थाक्ने छ तपाईले जित्नुहुनेछ।
आउनुहोस् एकपल्ट सबैले कर्मभुमिबाट सङ्कल्प गरौँ कि हामी नेपाली समुदाय बिचको आपसी सद्भाव एकता र मेलमिलापलाई मजबुत बनाउने छौँ । समस्यामा रहेका एक नेपालीले अर्को नेपालीलाई ईमान्दारीता पुर्वक सहयोग गर्नेछौं ।आज स्वदेश बाट नेपाली समुदाय आफन्त परिवारले हामीलाई हेरिरहेका छन्। समयले प्रतिक्षा गरिरहेको छ, त्यो समाज र परिवार प्रति हाम्रो ठुलो जिम्मेवारी र उत्तरदायित्व समेत रहेको छ।
ईमान्दारीता पुर्वक प्रवासमा रहेर दुख अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने ती महान हातहरु प्रति हार्दिक नमन । अनि सकारात्मक भावना लिएर अघि बढ्नै सबै नेपालीलाइ शुभकामना ।
लेखक  समित के.सि.पोखरा समाज अष्ट्रेलिया महासचिब