सिड्नी – अष्ट्रेलियामा विगत ७ वर्षदेखि विभिन्न शिर्षकमा ठगी धन्दा चलाइरहेका एक ब्यक्ति पक्राउ परेका छन् ।
भिक्टोरियाको राज्यको मेलबर्नमा बसोबास गर्ने भरत केसी पक्राउलाइ प्रहरीले पक्राउ गरी कारवाही थालेको छ । हुन्डी लगायतका विभिन्न अवैधानिक माध्यमबाट नेपालबाट पैसा ल्याइदिने, नेपालमा पैसा पठाइदिने भन्दै ठगी गरेको अरोपमा उनीलाइ पक्राउ गरिएको हो ।
उनले हालसम्म करिब ४० जनाको लाखौ डलर रकम ठगी गरेको पाइएको छ । विद्यार्थीहरुले युनिभर्सिटी र कलेजमा तिर्नका लागि नेपालबाट मगाएको पैसा पनि निजले ठगी गरेर रुन बाध्य बनाएका थिए ।
विशेष श्रोतबाट प्राप्त जानकारी अनुसार प्रहरीले निज भरत केसीलाई गत बिहीबार पक्राउ गरेको हो । निजलाई ठगीको आरोपमा पक्राउ गरिएकोमा अनुसन्धान पूरा गरी नोभेम्बरमा अदालतमा पेश गरिने बुझिएको छ ।
निज केसीले गत जुन १२ तारिखमा नेप्लीज एशोसिएसन अफ भिक्टोरिया, एनआरएन भिक्टोरिया, समूदायका अगुवाहरुसँगको कुराकानीमा आफुले एक महिनाभित्र उजुरी गरेका पीडितहरुको ५० प्रतिशत रकम बुझाउने र बाँकी रकम विस्तारै तिर्दै जाने सहमति गरेका थिए । केसीले अबदेखि यस्तो कारोबार नगर्ने लिखित प्रतिबद्धता समेत जनाएका थिए । तर, लगत्तैदेखि फेरि अन्य नेपाली विद्यार्थीहरुलाई ठगेका घटनाहरु आएका थिए । निजले प्रतिबद्धता अनुसार एकमहिना पछि पनि पैसा फिर्ता गरेका थिएनन् । पीडितहरुले नेपाली दूतावास क्यानबेरा, भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा समेत आफ्नो उजुरी दर्ता गराएका थिए ।
निज केसीले कुनै व्यक्तिले नेपालबाट पैसा ल्याउन चाहेको विभिन्न पेज र फेसबुक ग्रुपमार्फत जानकारी संकलन गर्थे । तिनीहरुलाई मेसेन्जरमार्फत आफुले नेपाल पैसा पठाउनुपर्ने भन्दै सम्पर्क गर्दथे । यता नक्कली चेक जम्मा गरेर त्यसको स्क्रिनसट पठाउने र उता आफ्नो व्यक्तिहरुको खातामा पैसा जम्मा गर्न लगाउने गर्दथे ।
नक्कली चेक भएपनि खातामा पैसा आउँदै गरेको देखाउने भएकोले मानिसहरु सजिलै झुक्किन्थे । यस्तै नेपालमा पनि पैसा नै नभएको चेक जम्मा गरेको डिपोजिट स्लीपको स्क्रिनसट पठाएर यहाँ पैसा जम्मा पारेर सम्पर्क विहीन हुने गरेका थिए । पछि सम्पर्कमा आएको बेला विभिन्न बहाना गरी, थोरै थोरै पैसा फिर्ता गरी झुलाउने गरेका थिए । निजले एकैजनाबाट ३० हजार डलरसम्म ठगी गरेको फेला परेको छ ।
बढ्दै ठगीका घटना
पछिल्लो समय अष्ट्रेलियामा केही ब्यक्तिहरुबाट नेपालीहरु ठगीने क्रम तिव्र रुपमा बढेको देखिन्छ ।
करिब २ लाखको हारहारीमा नेपालीहरु रहेको यस देशमा बिभिन्न पेशा ब्यबसायको शिलशिलामा ठगीमा पर्दै आएका छन् । बिभिन्न सामाजिक सञ्जालमा समुहहरु बनाइ ठगी भइरहेका कुराहरु आएका छन। त्यसैगरी जागीर लगाइदिने, व्यवसायमा मद्धत गर्ने बाहनामा पनि ठगी हुने गरेका छन। नेपालीहरु ले नै यस प्रकारका ठगी धन्दामा संलग्न भएको नेपालीहरुको नै गुनासो आउने गरेका छन । धेरै नेपालीहरुले राम्रा व्यवसाय गरेर बसेको भएपनि केही ब्यक्तिहरुको कारणले गर्दा पनि नेपालीहरु बदनाम हुने गरेका छन् । यस तर्फ सबै नेपालीहरुले ध्यान दिनु जरुरी छ । जो कोहीलाइ पनि आर्थिक कारोबार नगर्न जानकारहरुले आग्रह गरेका छन् ।
यदि तपाईं पनि हुन्डीको नाममा निज भरत केसीबाट ठगिनुभएको छ भने कृपया मेलबर्नको पुलिस स्टेशनको नम्बर (03) 9355 6000 मा सम्पर्क गर्न सकिने छ । । अथवा Telea.Hall@police.vic.gov.au मा ईमेल गरी आफ्नो उजुरी दर्ता गर्न सकिने छ । । तपाईं जुनसुकै स्टेटमा भएपनि निजले तपाईंलाई ठगेको छ भने ईमेलमार्फत उजुरी गर्न सकिने छ ।
(श्रोत एम न टि भि)






