पोखरा समाज अष्ट्रेलियाद्वारा भारतीय विस्तारवादको विरोध

सिड्नी । लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेपविरुद्ध पोखरा समाज अष्ट्रेलियाले विरोध जनाएको छ । समाजले जारी गरेको विज्ञप्तिका अनुसार ‘हाम्रो राष्ट्रिय स्वाधीनता र आत्म सम्मानमाथि भारतीय विस्तारवादको ठाडो हस्तक्षेपका विरुद्ध ३ करोड नेपाली एकजुट भई जो जहाँ छौं त्यहीबाट आवाज उठाउन अपिल गर्दछौं । हाम्रो भूमि फिर्ता गर्ने सवालमा नेपाल सरकारले चालेका सबैखाले कदममा साथ र समर्थन जनाउदै, यस अभियानमा संसार भर रहेका सबै नेपाली एकजुट भई भारतीय बिस्तारबादका बिरूद्धमा आवाज उठाउन सबैमा अनुरोध गर्दछौं ।’

‘हामी स्वाधीनता र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका स्वाभिमानी नागरिक हौं । हामीलाई कहिल्यै कसैको पनि उपनिवेश स्वीकार्य छैन । पुर्खाको बहादुरी, रगत र पसिनाले सिर्जित हाम्रो देश संसारको जुनसुकै ठाउँमा रहेता पनि जस्तोसुकै भाषा र पहिरनमा भएता पनि हामीलाई हाम्रो राष्ट्र प्राण भन्दा प्यारो छ’ विज्ञप्तिमा भनिएको छ ।

समाजले जारी गरेको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘करिब ६ महिना अगाडि भारतले हाम्रो कालापानी सहितको भू–भाग आफ्नो नक्सामा सार्बजनिक गरेको र हाल भारतको टनकपुरतावाघाटदेखि नेपालको दार्चुला– लिपुलेकसम्म सडक मार्ग निर्माण गरी भारतका रक्षामन्त्रीद्वारा उद्घाटनसमेत गरिएको यसखाले भारतको विस्तारबादी तल्लोस्तरको निच प्रवृत्ति र हस्तक्षेपप्रति हामी घोर निन्दा र भत्सना गर्दछौं ।’