पोखरा – कल्पना समेत नगरिएको कोरोना भाईरसले निम्त्याएको महामारीको कारण बिगत लामो समयदेखि विश्व जगतनै प्रभावित भइरहेको छ ।
नेपालको सन्दर्भमा यतिबेलाको दुखद घडीमा स्वदेश वा बिदेश बाट विभिन्न सामाजिक संघसस्थाहरूले यसकोे रोकथामका निम्ति सचेतना मुलक तथा सहयोगी कार्यहरू गरीरहेका छन् ।
यसै प्रसँगमा नेपाली काँग्रेस कास्की जिल्ला कार्य समितिका सभापति कृष्ण केसीले आफ्नो जन्मदिनको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोना पोजेटिभ उपचारत बिरामीहरूको लागि एक महिना सम्म फलफूल उपलब्ध गराउने घोषणा गरेका छन् ।
सुरुवाती दिन देखीनै सामाजिक कार्यमा संलग्न रहिआएको पोखरा समाज अष्ट्रेलियाले विभिन्न ब्यक्तिहरुको सहयोगमा कोरोना पोजेटिभहरुको लागि फलफूल बितरण गर्दै आइरहेको थियो ।
अबको एक महिना सम्म संस्थाले गरेको कार्यलाइ साथ दिदै बिरामीहरुलाइ फलफूल बितरणको खर्च आफुले व्यहोर्ने केसीले घोषणा गरेका हुन् ।
‘सबै मानवलाइ परेको यो आपतमा तेरो मेरो नगरी सदभाव राख्नुपर्छ’ केसीले भने ‘मैले पनि एक महिना सम्म पोखरा क्षेत्रीय अस्पतालमा उपचाररत बिरामीहरुको निम्ती ताजा फलफूलको ब्यबस्था गर्ने घोषणा गर्न पाउँदा खुशी लागेको छ’ । उनले अन्य महानुभावलाइ पनि आफुले सक्ने सहयोगको जमर्काे गर्न आग्रह गरे ।
सभापति केसीले गरेको यो मानवीय कार्यको निम्ती पोखरा समाज अष्ट्रेलियाका अध्यक्ष राजकुमार अधिकारीले धन्यवाद ब्यक्त गर्दै भने “कोभिड १९ को यस महामारीमा सबै नेपाली मिलेर यसको सामना गर्नुपर्ने र यतिबेला यो वा त्यो नभनी सबै सहयोगी मनहरू लाई जन्मभुमि र समुदाय प्रतिको सहयोग अभियानमा जुट्न अनुरोध समेत गर्छु ,परिवारकै सदस्य बिच समेत एकअर्का लाई भेट्न र आपतमा छुन समेत नपाईने यो प्राण घातक महामारीमा गरिने सबैखाले सहयोगले हामी मानव जाती कै कल्याण हुने हो । त्यसेले खुलेर सहयोग गरौ “।







