बेलायत सरकारको ‘मिनी बजेट’ बारे नेपाली एकाउण्टेन्टहरुले गरे जूम अन्तर्क्रिया

लण्डन
बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायत सरकारले यसै महिना सार्वजनिक गरेको ‘मिनी बजेट’ बारे यहाँ ब्यापार व्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरूसंग जूम मार्फत अन्तरक्रिया गरेको छ ।

ब्रिटिश अर्थमन्त्री ऋषि सुनकले सार्वजनिक गरेको मिनी बजेटका मुख्य बुंदाहरु र त्यसबाट कसरी लाभान्वित हुने भन्ने बारे छलफल केन्द्रित रहेको थियो।

कार्यक्रममा चार्टर्ड एकाउण्टेन्ट द्वय युवराज न्यौपाने तथा गौरव बरालले कार्यपत्र प्रस्तुत गरेका थिए। छलफलमा जब रिटेन्शन स्किम, फर्लो, बाइ टु लेट प्रपर्टी आदि विषयमा वरिष्ठ एकाउण्टेन्ट्सहरु एलएन पाण्डे, हरिहर उपाध्याय, लेखनाथ घिमिरे, कृष्ण भट्टराई लगायतले दर्शक, श्रोताहरुका जिज्ञासाको जवाफ दिएका थिए।

‘हामीले गत जुन महिनामा कोरोना भाइरस (कोभीड(१९) को संक्रमण रोक्न गरिएको लकडाउनबाट नेपाली ब्यवसायीहरूलाई परेको असर र बेलायत सरकारले घोषणा गरेका राहत प्याकेजबारे नेपाली व्यवसायीहरुलाई जानकारी गराउन एउटा वेबिनार आयोजना गरेका थियौं’ ।

नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेका अध्यक्ष सरोज सापकोटाले भने, ‘ उक्त वेबिनारबारे हामीलाई प्राप्त सकारात्मक प्रतिक्रिया र व्यवसायीहरुको आग्रह बमोजिम यो कार्यक्रम सम्पन्न गर्याैँ’ । नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेका महासचिव शशिधर नेपालले सरकारले घोषणा गरेका योजनाहरुको लाभ व्यवसायीहरुले उठाउन नसकेको बताए ।

‘कोभिड १९ संक्रमण लगत्तै ब्रिटिश सरकारले यहांका व्यवसायीहरुको हितका लागि थुप्रै योजनाहरु सार्वजनिक गर्याे, तर बेलायतस्थित व्यवसायीहरुले तिनबाट चाहे जति लाभ लिन सकेको देखिएन । त्यसैले संस्थागतरुपमा हामीले यस्तो पहल गरेका हौँ’। उनले भने ।

कार्यक्रमको संचालन वरिष्ठ एकाउण्टेन्ट शिव सैंजुले गरेका थिए भने वरिष्ठ एकाउण्टेन्ट तथा कर सम्बन्धी सल्लाहकार समिर प्याकुरेलले धन्यवाद ज्ञापन गरेका थिए।

सो संस्थाले बेलायतमा रहेका नेपाली रेस्टुरेन्ट तथा क्याटरिंग ब्यवसायीहरुका लागि अकाउंट तथा कर सम्बन्धी जानकारी दिन आउँदो सेप्टेम्बर महिनामा अर्को वेबिनार संचालन गर्ने योजना बनाइ रहेको पनि जनाएको छ ।