तक्दीर अधिकारी
सिड्नी । कोरोना संक्रमणले अर्थतन्त्र प्रभावित भएपछि समस्यामा परेका ७० जना नेपाली विद्यार्थीलाई विनर सर्कल मिडियाले राहत वितरण गरेको छ । प्रिमो एजुकेशन सर्भिसेजको सहयोगमा विनर सर्कलले विद्यार्थीलाई सहयोग उपलब्ध गराएको हो ।
सहयोग लिने सिड्नी वरपर रहेका नेपाली विद्यार्थी हुन्, विनर सर्कलका प्रशासकीय अधिकृत रोशन खतिवडाले भने, ‘ब्रिसवनबाट पनि केहीले सहयोगका लागि फर्म भरेका थिए, तर हामीले उहाँहरुलाई दिन सकेनौं ।’
‘स्टुडेन्ट एड २०२०’ को नाममा सञ्चालित उक्त सहयोग कार्यक्रम झन्डै महिना दिनसम्म सञ्चालन भएको थियो । यस अवधिमा नेपालीहरुको बाक्लो बस्ती रहेको सिड्नी वरपरका विद्यार्थीलाई राहत उपलब्ध गराइएको थियो ।
विनर सर्कलले सधैं नै नेपाली विद्यार्थीको हितमा काम गर्ने अधिकृत खतिवडाले बताए । सर्कलले गत शनिबार मात्रै पब्जी टुर्नामेन्ट सञ्चालन गरेको थियो । उक्त टुर्नामेन्टमा विद्यार्थीहरुकै सहभागिता थियो, नेपाली विद्यार्थीले नै ९ सय डलरको पुरस्कार जितेका थिए । उक्त पुरस्कार आउँदो शनिबार वितरण हुने अधिकृत खतिवडाले बताए ।






