सिड्नी । झापाली समाज अस्ट्रेलियाले गृह जिल्लाबासीलाई विभिन्न चरणमा ६ लाख रुपैयाँभन्दा बढीको राहत बितरण गरेको छ । समाजका अध्यक्ष उमेश पोखरेलले दिएको जानकारी अनुसार बैशाख ६ गते अष्ट्रेलियामा बसोबास गर्ने भद्रपुर र चन्द्रगडीबासी झापालीहरु मिलेर भद्रपुर नगरपालिका वडा नं ५ का बिपन्न परिवारलाई रु ८०,००० बराबरको खाद्यान्न वडाध्यक्षको समन्वयमा बितरण गरिएको थियो भने सोही टोलीले भद्रपुर नगरपालिकाको बिभिन्न वडाहरुमा थप राहत प्रदान गर्नको निमित्त नगरपालिकाका मेयर जीवन श्रेष्ठलाई ७५ हजार नगद हस्तान्तरण गरेको थियो। समाजको यो पहिलो चरणको राहत वितरण कार्यक्रम थियो ।

दैनिक ज्यालादारी गरि घर चलाउने श्रमिकहरु अत्यन्त मारमा परेको खबर सुन्ना साथ अनारमनी बसोबास गर्ने अष्ट्रेलियाका झापालीहरुले हातेमालो गर्दै बिर्ताबजारमा जेष्ठ ६ गते १२०० जनालाई निशुल्क खाना खुवाईएको समाजका सल्लाहकार रुपराज मैनालीले बताए।
समाजले भाईवरमा ग्रुप निर्माण गरी आर्थिक संकलन अभियान सुरु गरेको दिन मै सोचेको भन्दा बढी सहयोग मनकारी ईष्टमित्रबाट प्राप्त हुन थालेपछि समाजले यो संकलित रकमलाई झापाको सर्वाधिक असर परेको स्थान र व्यक्तिहरुमा पु-याउने योजना बनाएको सचिव अशोक उप्रेतीले बताए । आषाढ ५ गते समाजका सल्लाहकार कर्ण राजबंशी र सदस्य भिष्म ओलीको उपस्थितीमा भद्रपुर नगरपालिकाको क्वारान्टिनमा बसेकालाई आवश्यक तातोपानी तताउने विद्युतीय केट्ली ५० थान र ५० वटा सिसाको ग्लास कोभिड–१९ महामारी सकिएपछि पनि बिभिन्न स्वास्थ्य बिभागमा उपयोगमा आउने गरि हस्तान्तरण गरेको थियो।

कार्यक्रममा सहयोग सामग्री ग्रहण गर्दै नगरप्रमुख जीवनकुमार श्रेष्ठले आफ्नो मातृभूमिलाई संकटको घडीमा सहयोग प्रदान गर्ने झापालीको तन विदेसिए पनि मन झापामै रहेको उल्लेख गरे। बिदुर बोडिङ स्कुलमा आयोजना भएको कार्यक्रममा नगरपालिकाका मेयर लगायत उपमेयर चन्द्रा श्रेष्ठ, प्रिंसिपल मणिदेवी भट्टराई, समाजसेवी बासुदेव पोखरेलको उपस्थिती थियो।
सहयोग गर्ने क्रम जारी राख्दै आषाढ ७ गते झापाको कोरोनाले धेरै असर गरेको कचनकवल गाउपालिका–६ बनियानीमामा ७० हजार रुपैयाँ बराबरको खाध्यान्न सामाग्री वडाध्यक्ष कुलबहादुर कार्कीको उपस्थितीमा हस्तान्तरण गरियो। कार्यक्रममा वडाध्यक्षले यो संकटको घडीमा सहयोग प्रदान गर्ने विदेशका वस्ने झापालीहरुले जिल्लावासीलाई गरेको सहयोग अतुलनिय एवं अनुकरणीय रहेको बताउदै अनेक दुःख गरेर कमाएको पैसा समाजका निम्ति पठाएर झापाली समाजले ठूलो गुण लगाएको भन्दै धन्यवाद दिए।
भारतबाट नेपाल प्रवेश गर्ने पुर्वी नेपालकै सबै भन्दा ठुलो सीमा मेचिनगरमा पनि केही स्वास्थ सामाग्री हस्तान्तरण गर्ने समाजले निर्णय गर्यो । आषाढ १० गते मेचीनगर नगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि ७५ हजार रुपैयाँ मूल्य बराबरको २ सय थान भिटिएम किट र १०२८ थान सर्जिकल मास्क प्रदान गरेको हो। भारतसँग सीमा जोडिएको मेचीनगरलाई कोरोना जाँचमा सघाउ पुर्याउन अष्ट्रेलियामा रहेका झापालीहरु आबद्ध समाजले सहयोग गरेको अध्यक्ष उमेश पोखरेलले बताए।

त्यस्तै, मेचीनगर प्रमुख बिमल आचार्यले कोरोना महामारीको सामना गर्न नगर सरकारले उच्च सावधानी अपनाएको प्रतिक्रिया दिँदै सहयोगी संस्थाप्रति आभार प्रकट गरे। सहयोग हस्तान्तरण अभियानलाई जारी राख्दै केही दिन भित्र विर्तामोड नगरपालिका र हल्दिबारी गाउपालिकाका विपन्न परिवारलाई खाध्यान्न हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष पोखरेल बताउँछन् ।
बाढी होस् वा भुकम्प, आर्यघाट निर्माणमा होस वा एम्बुलेन्स सहयोग, बाढीपिडितको लागी घर निर्माण होस वा कोरोना पिडितको लागी ल्याव निर्माण, शैक्षिक क्षेत्र होस वा खेलकुद क्षेत्र हरेक ठाउमा झापाली समाज अष्ट्रेलियाले प्रत्यक्षरूपमा आफैले वा अन्तराष्ट्रिय झापाली समाजसँग सहकार्य गर्दै जिल्लावासीहरुलाई सहयोग गर्दै आएको र यि अभियानहरुमा अष्ट्रेलिया लगायत विश्वमा बसोबास गर्ने झापालीहरुको एकता र सहकार्य देख्दा गर्व महसुस भएको बताउँछन समाजका सँस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय झापाली समाजका संरक्षक दिनेश पोखरेल ।
‘एकका लागि एक अभियान’ अन्तर्गत झापाका १५ वटै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई एक सयका दरले ३ हफ्ता अघि पिसिआर टेस्ट ट्युब प्रदान गरिएको कार्यक्रममा रु १ लाखको सहयोग गर्नुको साथै अन्तर्राष्ट्रिय झापाली समाजले घोषणा गरेको र निर्माणको प्रारम्भिक चरण शुरु भई सकेको पिसिआर ल्यावका लागी मेसिन प्रदान गर्ने अभियानलाई आफ्नो तर्फबाट उल्लेखनीय सहयोग हुने प्रतिवद्दता आएको बताउछन झापाली समाज अष्ट्लियाका पुर्व अध्यक्ष तथा अन्तराष्टिय झापाली समाज, पिसिआर ल्याव सहयोग समितिका संयोजक दिपक खनाल। सो अभियानका लागी अझासले रु २५ लाखको सहयोग गर्ने घोषणा केही दिन अघि मात्र गरेको थियो।
कोरोना महामारीको कारण कर्म भूमि अछुतो रहेन। भरखरै नेपालबाट आएका विधार्थी भाईबैनीहरुले रोजगार गुमाउनुको साथै काम पाउन पनि अत्यन्त कठिन अवस्था सिर्जना भयो। सोही क्रममा केही भए पनि राहत पुग्ने हेतुले समाजले पिडित विधार्थीलाई खाध्यान्न बितरण गर्नुको साथै एनआरएनए अष्ट्रेलियामार्फत विधार्थी सहयोग अभियानलाई ५०० डलर सहयोग गरेको उपाध्यक्ष अशोक ओलीले बताए।






