एक्सपर्ट फाउन्डेसनद्वारा एनआरएन अस्ट्रेलियालाई २० हजार डलर

सिड्नी । कोभिड-१९ ले समस्यामा परेका नेपाली विद्यार्थीलाई सहयोगका लागि एक्सपर्ट फाउन्डेसनले गैरआवासीय नेपाली संघ अस्ट्रेलियालाई २० हजार डलर उपलब्ध गराएको छ । एक्सपर्टको सिड्नीस्थित कार्यालयमा फाउन्डेसनका संरक्षकद्वय बद्री अर्याल र सञ्जिव शर्माले २० हजार डलरको चेक एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलसहितको टोलीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा एनआरएन आईसीसी उपाध्यक्ष मन केसी, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ, प्रवक्ता नन्द गुरुङ, एनआरएन न्यू साउथवेल्स (एनएसडब्लु) का सचिव दिपक पहारी, पोखरा समाजका तारा गुरुङ लगायतको उपस्थिति रहेको थियो।

हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका संरक्षक बद्री अर्यालले फाउन्डेसनले हरेक सेवाग्राहीबाट एक हजार नेपाली रुपैयाँ अथवा १० अस्ट्रेलियन डलर फाउन्डेसनको कोषमा जाने व्यवस्था मिलाई सामाजिक दायित्व पूरा गरिरहेको बताए।

फाउन्डेसनका अर्का संरक्षक सञ्जिव शर्माले एनआरएन अस्ट्रेलियाले गरेको कामको प्रशंसा गर्दै एक्सपर्टले आफ्नो सामाजिक दायित्वलाई निभाउने क्रममा यसपटक विभिन्न ५३ वटा संघसंस्थालाई ५१ हजार डलर समेत प्रदान गरेको बताए।