सिड्नी । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर जागीरको प्रलोभन देखाएर यौन दुव्यवहार गरेको आरोपमा सिड्नीमा एक नेपाली युवालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा आकर्षक जागीरको अफर गरेर विज्ञापन राखेका ती युवाले एक नेपाली चेलीलाई नै यौन दुव्यहार गरेको प्रहरीको भनाइ छ ।
घटना एक समयमा सबैभन्दा धेरै नेपालीहरु बसोबास गर्ने रकडेल, कोग्रा, हर्सभिल क्षेत्रको हो । युवतीले प्रहरीमा दिएको उजुरीअनुसार फेसबुकमा जागीरको विज्ञापन देखेर सम्बन्धित व्यक्तिसँग सम्पर्क गरेकी थिइन् । सम्पर्कमा आएका ती व्यक्तिले अन्तर्वार्ताका लागि लैजाने भन्दै कारमा बस्न आग्रह गरे । कारमा बस्ने वित्तिकै ती व्यक्तिले यौनजन्य हर्कत गरेपछि उनी कारबाट फुत्तकेर प्रहरी चौकीमा पुगेकी थिइन् ।
अलावा रेल्वे स्टेशन नजिकै भएको उक्त घटना मार्च ८ को हो । घटनाको अनुसन्धान गर्न प्रहरीलाई झन्डै महिना लागेको थियो । आरोपित ती युवा गत २४ अप्रिलमा पक्राउ परेका हुन् ।
नक्कली फेसबुक आइडी बनाएर विभिन्न सहयोगको बहानामा नयाँ विद्यार्थीलाई ठग्ने प्रवृत्ति अस्ट्रेलियामा मौलाइरहेको प्रहरी बताउँछ । विशेष गरी जागीरको खोजीमा रहेका युवतीहरु यौन हिंसाको शिकार बन्ने गरेका छन् । यसका लागि युवतीहरु आफै सचेत र चनाखो बन्नुपर्ने सुरक्षासम्बन्धी जानकारहरु बताउँछन् ।






