रकडेलको किङकोट सुपरमार्केटमा भीषण आगलागी

तक्दीर अधिकारी
सिड्नी । रकडेलको विशाल बजार भनेर चिनिने किङकोट सुपरमार्केटमा भिषण आगलागी भएको छ । उक्त सपुरमार्केटमा एभरेस्ट बुचरी सञ्चालन गर्दै आएका महेश प्रसाई (म्याक्स बाबु) ले उपलब्ध गराएको जानकारी अनुसार बिहान ११ बजेदेखि सुपरमार्केटमा आगो लाग्न सुरु भएको थियो ।

कारपार्कबाट आगो लाग्न सुरु भएको थियो भने आगो कार पार्कबाट तल्लो तलामा फैलिएको थियो । चारवटा दमकल आगो निभाउन लागिरहेका छन् उनीहरुलाई सहयोग गर्न थप दमकल आउने क्रम जारी छ ।

प्रहरी परिचालन गरिएको र कुनै मानवीय क्षति नभएको विवरणहरुमा जनाइएको छ । आगो कसरी सुरु भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने आगोले कति क्षति पु-यायो भन्नेबारेमा विवरण आउन बाँकी नै छ ।

सुरुमा एउटा कार मात्र जल्यो भनेर सामान्य रुपमा लिइएको थियो, यद्यपि त्यसलाई नियन्त्रण लिने प्रयास गर्दागर्दै आगोले ठूलो रुप लिएको थियो । कारपार्कबाट आगलागी सुरु भएकाले धेरै सवारी साधन जलेको बताइन्छ ।

सुपरमार्केटमा आगो लागेकाले पसलहरु बन्द गर्न थालेको छ । व्यवसायी म्याक्सबाबुका अनुसार उक्त बिल्डिङमा ६–७ वटा नेपालीको व्यवसाय छ । उनीहरुको के कति क्षति भयो त्यसबारे पनि विवरण आउन बाँकी छ ।  बढी नेपालीको भीडभाड हुने भनेको एभरेस्ट बुचरी हो । बिल्डिङ लकडाउन भएपछि सेवाग्राही प्रभावित भएका छन् ।