कोरोना भाइरसबाट २ लाख २८ हजारभन्दा बढीको निधन

लन्डन । संसारमै महामारीको रुप लिएको कोरोनाले विश्वका २ लाख २८ हजारभन्दा बढीको ज्यान लिएको छ भने ३२ लाख ३० हजारभन्दा बढी संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ६१ हजारभन्दा बढीको कोरोना भाइरसको संक्रमणले ज्यान गएको छ भने इटलीमा २७ हजारभन्दा बढी र स्पेन र फ्रान्समा २४ हजारभन्दा बढीको ज्यान गएका छ । बेलायतमा २६ हजारभन्दा बढीको ज्यान गएको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ १० लाख ६४ हजार ५३३ संक्रमित हुदा ६१ हजार ६६८ जनाको मृत्यु भैसकेको छ । इटालीमा २७ हजार ६८२ को निधन भैसकेको छ भने २ लाख ३ हजार ५९१ संक्रमित छन् । त्यस्तै स्पेनमा २४ हजार २७५ को निधन भएको छ भने २ लाख ३६ हजार ८९९ संक्रमित छन् । नेपालको छिमेकी मुलुक भारतमा भने ३३ हजार ६२ कोरोना संक्रमित छन् भने १ हजारभन्दा बढीको निधन भएको छ । यता नेपालमा ५७ जना संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यता, जापानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस सम्बन्धी १३ प्रकारको लक्षण देखिने चेकलिस्ट जारी गरेको छ । यस्ता संकेत भएको व्यक्तिले तुरुन्त चिकित्सकको सल्लाह लिनु पर्ने मापदण्ड अपनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सूचीमा अनुहारको रंग, बैजनी ओठ, सासको समस्याहरू जस्तै छाती दुख्ने, सुत्न नसक्ने, र सास फेर्दा काँधलाई हेभ गर्ने काम भएमा त्यस्ता परिवारका सदस्यहरूले दिनको दुई चोटि चेक सूचीमा जानु पर्छ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ । जापानमा अहिलेसम्म ४१३ जनाको कोरोना भाइरसबाट निधन भएको छ भने १३ हजार ८३७ जना संक्रमित छन् । जापान संक्रमित हुने संख्याको सूचीमा २८औं नम्बरमा छ ।

यता भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार ५० पुगेको बिहीबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७४ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा एक हजार ७१८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन।् । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ६७ जना रहेको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये ८ हजार ३२४ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २३ हजार ६५१ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।