लन्डन, एप्रिल ९ (जीएनएन) — प्रा. सूर्यप्रसाद सुवेदीलाई बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले उनले प्राज्ञिक क्षेत्रमा र खासगरी अन्तर्राष्ट्रिय कानून र मानव अधिकार कानूनको विकासमा दिएको योगदानको कदर गर्दै मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका उपकुलपतिबाट सो सम्बन्धी पत्र पाउंदा आफू हर्षित भएको प्रा. सुवेदीले बताए ।
उक्त विश्वविद्यालयबाट करिब ३० वर्षअघि प्रा. सुवेदीले विशिष्ट श्रेणीमा प्रथम भई अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गरेका थिए । त्यसपछि उनले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले दुई वर्ष लगाइ उनका सबै प्रकाशित कृतिको मूल्यांकन गरी महाविद्यावारिधि उपाधि प्राप्त गर्न उपयुक्त ठहराइ सो उपाधि प्रदान गरेको थियो । यसवर्ष अक्सफोर्डले प्रा. सुवेदीको नाममा स्नातक तह र विद्यावारिधिमा गरी दुईवटा वार्षिक पुरस्कार स्थापना गरेको थियो ।
यसरी बेलायतका दुईवटा प्रतिष्ठित विश्वविद्यालयबाट दुईवटा महाविद्यावारिधि पाउने व्यक्ति विद्याको खानी भनेर जानिएको मुलुक बेलायतमै विरलै छन् । लमजुङबाट ल क्याम्पस हुंदै बेलायतको अक्सफोर्ड र हल विश्वविद्यालयमा अध्ययन गरेका प्रा. सुवेदीले संसारका ५ वटा देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन् । उनले नेपाल र बेलायत सरकारका अतिरिक्त अन्य देश लाई पनि कानूनी सल्लाह दिएका छन् । उनका आठवटा अन्तर्राष्ट्रियस्तरका ग्रन्थ र थुप्रै प्राज्ञिक लेखहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् । उनका कृतिहरु चिनिया र फारसी भाषा लगायतका विदेशी भाषामा अनुवाद भई प्रकाशित भएका छन् ।
हाल उनी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनको प्राध्यापकका रुपमा कार्यरत छन् ।






