जर्मन डाक्टरद्वारा स्वास्थ्य केन्द्र स्थापना

गगनशिला खड्का

गुल्मी, २६ चैत्र । चार वर्षअघि रामेछापको तामाकोसी सहकारी अस्पतालमा काम गर्न जाँदा बाँझकटेरीका विष्णु भुसाल (२५) ले आफ्नो विकट गाविसमा स्वास्थ्य केन्द्र स्थापना होला भन्ने कल्पनासम्म गरेका थिएनन् । तर, तीन वर्षपछि उनले आफ्नो विकट गाउँमा स्वास्थ्य केन्द्र लिएर फर्के । भुसालकै पहलमा जर्मन नागरिकले जिल्लाको अति विकट बाँझकटेरीमा स्वास्थ्य केन्द्र खोलिदिएपछि उनी जिल्ला फर्किएका हुन् ।
विकट गाविसका जनतालाई स्वास्थ्य उपचारमा समस्या देखेर जर्मन नागरिक डा. क्वाइस इक्करले सामुदायिक स्वास्थ्य केन्द्र खोलिदिएका हुन् । बाँझकटेरी, अग्लुङ, सिर्सेनी, म्यालपोखरी, मलायागिरीलगायत गाविसका जनतालाई स्वास्थ्य उपचारमा सेवा पुर्‍याउन बाँझकटेरी–२ मा मदाने स्वास्थ्य सामुदायिक सेवा केन्द्र सञ्चालन भएको छ ।
०६२ सालमा सदरमुकामबाट एसएलसी पास गरेपछि भुसालले काठमाडांैमा एचए पढेर ०६५ सालमा रामेछापको तामाकोसी सामुदायिक अस्पतालमा काम गर्न गए । अस्पतालमा काम गर्ने क्रममा संयोगवश एक विदेशीसँग भेट भयो । ती विदेशी तालिम दिनका लागि अस्पतालमा आएका थिए ।
उनी जर्मन नागरिक डा. क्वाइस इक्कर थिए । इक्करसँग गाउँको दु:खका बारे बताए । ‘डा. इक्करसँग कुराकानीका क्रममा गाउँ दुर्गम भएको र जनताले आधारभूत स्वास्थ्य सेवा लिन नपाएर मर्नुपरेको कुरा गरेँ,’ उनले भने, ‘पछि एकपटक गाउँमा पुगेर बुझौँ न भनेपछि ०६७ सालमा हामी मेरो गाउँमा आउँदा समस्या देख्नुभयो, उहाँले जर्मनीका नागरीकसँग सहयोग जुटाएर ०६८ सालदेखि स्वास्थ्य केन्द्र खोलिदिनुभयो ।’
केन्द्रले औषधिबाहेकका सेवा नि:शुल्क सञ्चालन गरेको छ । औषधिचाहिँ ६ प्रतिशत छुटमा उपलब्ध गराएको केन्द्रका प्रमुख विष्णु भुसालले बताए । तर, १३ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका नागरिकलाई औषधिमा पनि ५० प्रतिशत छुट दिने गरेको उनको भनाइ छ । सामुदायिक स्वास्थ्य सेवा केन्द्रका पहलकर्ता भुसाल हेल्थ असिस्टेन्ट हुन् भने अनमी, सिएमएलगायत स्वास्थ्य कार्यकर्तासहित सातजनाले अहिले केन्द्रमा सेवा दिइरहेका छन् ।
स्वास्थ्य सेवा सञ्चालनका लागि काठमाडौंमा ‘नेपाल हेल्प’नामक संस्थाले समन्वय गरेको छ । जर्मनीमा ‘ब्रिपाल’ नामक संस्थाले त्यहाँका नागरिकबाट सहयोग संकलन गरिरहेको छ । समन्वयकारी संस्था नेपाल हेल्पको काठमाडौंस्थित कार्यालय, त्यहाँका कर्मचारी र बाँझकटेरीको स्वास्थ्य केन्द्रका कर्मचारीको तलब तथा औषधि गरी वार्षिक ३५ लाख खर्च हुने गरेको संस्थाका कार्यक्रम संयोजक कृष्ण ढकालले बताए ।
तीन वर्षसम्म व्यक्तिको घरमा नि:शुल्क रूपमा सञ्चालन भएको केन्द्र गत सातादेखि आफ्नै भवनमा सरेको छ । व्यक्तिको साँघुरो घरमा समस्या भएपछि एक करोड नौ लाख रुपैयाँ खर्चमा नयाँ भवन बनेको छ । भवनका लागि जर्मन नागरिकले नै सहयोग गरेका हुन् । स्वास्थ्य केन्द्रमा बाँझकटेरी, अग्लुङ, सिर्सेनी, म्यालपोखरी, मलायागिरीलगायत गाविसबाट दैनिक २० जनाभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । नियमित उपचारबाहेक जर्मन डाक्टर र नेपालकै विशेषज्ञ डाक्टरले मासिक रूपमा शिविर पनि सञ्चालन गर्ने गरेका छन् ।