लन्डन, एप्रिल ५ (जीएनएन ) — ब्रिटिश महारानी एलिजाबेथ द्वितीयले कोरोना भाइरस महामारी विरुद्धको लडाईंमा ब्रिटेन सफल हुने विश्वास व्यक्त गरेकी छिन् । ब्रिटेन तथा राष्ट्रमण्डलको नाममा एक विशेष संदेश दिंदै महारानी एलिजाबेथले घरमै बसेको तथा एक अर्कालाई सहयोग गरेकोमा आफ्ना जनतालाई धन्यवाद दिइन् । उनले सबै देशवासीलाई सरकारको निर्देशन पालना गर्न र घरमै बस्न आग्रह पनि गरिन् । टेलिभिजनबाट प्रसारित संदेशमा ९३ वर्षीय महारानीले ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लगायत देश बन्दाबन्दीमा रहेको बेला पनि आवश्यक सेवा संचालन गर्न खटीरहेका “कि वर्कर्स” हरुलाई धन्यवाद दिइन् ।
ब्रिटेनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या झन्डै ५ हजार पुग्न लाग्दा ब्रिटिश महारानीले देशवासीका नाममा यस्तो संदेश दिएकी हुन् । ब्रिटिश महारानीले यो संदेशबाट देशवासीको मनोबल उठाउन खोजेको ठानिएको छ । “हामीले अझै बढी पीडा खेप्नु पर्ने हुन सक्छ, तर राम्रा दिन फर्कने छन् । हामी फेरी हाम्रा साथीहरुसंग, हाम्रो परिवारसंग संगै हुने छौं, हामी फेरी भेट्ने छौं । हामी संगसंगै यो रोगसंग जुधीरहेका छौं, र म तपाईंहरुलाई आश्वस्त पार्न चाहन्छु कि यदि हामी एकताबद्ध र दृढनिश्चयी भएमा हामीले यो संकट माथि अवश्य पनि जित हासिल गर्ने छौं,” उनले संदेशमा भनेकी छिन् ।६८ वर्ष लामो शासन कालमा देशवासीका नाममा महारानीले दिएको यो पाचौं विशेष संदेश हो। ब्रिटिश महारानीसंग कुनै राजनीतिक शक्ति नभए पनि धेरैले राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीकको रुपमा पनि हेर्दछन् ।
प्रधानमंत्री जोनसन अस्पताल भर्ना
यसै बीच ब्रिटिश प्रधानमंत्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयले जनाएको छ । “यो इमर्जेन्सी भर्ना होइन , १० दिनसम्म स्व-एकान्तवासमा बसे पछि थप परीक्षणकालागि उनी अस्पताल भर्ना गरिएका हुन्,” डाउनिंग स्ट्रिटद्वारा भर्खरै जारी एक वक्तव्यमा भनिएको छ । गत २७ मार्चमा प्रधानमंत्री जोनसनले आफु कोरोनाबाट संक्रमित भएको जनाएका थिए । जरो न घटे पछि उनलाई अस्पताल भर्ना गर्नु परेको जनाइएको छ । कोरोना भाइरसबाट संक्रमित ब्रिटिश स्वास्थ्य मंत्री म्याट ह्यानकक भने एक साता लामो स्व-एकान्तवास पछि काममा फर्की सकेका छन् ।






