तक्दीर अधिकारी
सिड्नी । नेपाली दूतावास क्यानभेरा (अस्ट्रेलिया) ले ओसियाना क्षेत्रमा रहेका नेपाली समुदायलाई सुरक्षित रहन आह्वान गर्दै तथ्यांक संकलन गर्न थालेको छ । नेपाली दूतावास क्यानभेराले भनेको छ, ‘यस क्षेत्रमा रहने नेपाली विद्यार्थीहरूको तथ्यांक सङ्कलन गर्ने तथा कुनै विद्यार्थीको विशेष समस्या भएमा त्यसको जानकारी लिइ समाधानका लागि तत्काल पहल गर्ने उद्देश्यले तयार गरिएको संकटकाल दर्ता फर्म (Emergency Registration Form) यस राजदूतावासको वेभसाइट मा राखिएको छ ।
उक्त संकटकाल दर्ता फर्ममा माग भएअनुसार आ–आफ्नो नाम थर, ठेगाना, अभिभावकको विवरण, आफू अध्ययनरत विश्वविद्यालय र कलेजको नाम, ठेगाना, इमेल तथा सम्पर्क नम्बर आफूलाई यहाँको विश्व विद्यालय र कलेजमा पठाउने शैक्षिक परामर्शदाताको नाम, सम्पर्क नम्बर इमेल तथा सम्बन्धित विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी मामिला हेर्ने पदाधिकारीको नाम एवम् आफूलाई परेको समस्यालगायतका विवरणहरू उपलब्ध गराइ दिन अष्ट्रेलिया, न्युजिल्याण्ड तथा प्रशान्त क्षेत्रमा रहेका सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई अनुरोध गरिएको छ ।’
दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘संसारभरको जनजीवनलाई असर पारिरहेको कोरोना भाइरस (COVID-19) का कारण अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजीलगायत प्रशान्त क्षेत्रमा अध्ययनरत आफ्नो परिवारबाट टाढा रहेका नेपाली विद्यार्थीहरू पनि प्रभावित भइरहेको अवस्थालाई यस राजदूतावासले नजिकबाट हेर्नुका साथै सोको समाधानका लागि हरसम्भव प्रयास गरिरहेको ब्यहोरा अनुरोध गर्दै यस क्षेत्रमा रहनु हुने खास गरी नेपाली विद्यार्थीहरू, अभिभावक तथा विभिन्न उद्देश्यले यहाँ रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हालको अवस्थामा सुरक्षित एवं संयमित रहन पुनः अनुरोध गर्दछौ ।’ (तस्बीर् राजदूतावास वेभसाइट)
राजदूतावासको वेभसाइट मा राखिएको दर्ता फर्ममा जान को लागि यहाँ क्लिक गर्नुहोस् ।
-https://au=nepalembassy=gov=np/emergency-registration-form/






