जीएनएन, २७ मार्च लन्डन– ब्रिटिश प्रधानमंत्री बोरिस जोनसन कोरोना भाइरसबाट संक्रमित भएको पाइएको उनको कार्यालयले जनाएको छ । उनमा कोभिड-१९ का हल्का संकेतहरु देखिएका र उनी आफ्नै सरकारी निवासमा एकान्तवासमा बसी रहेको टेन डाउनिंग स्ट्रीटले जनाएको छ । यसैबीच ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोनभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। एक ट्वीट गर्दै ह्यानककले आफु घरमै एकान्तवासमा बसिरहेको र घर बाटै काम गरिरहेको जनाएका छन्।
उनले ब्रिटिश जनतालाई सरकारको सुझाव पालना गर्न र घरमै बसेर सुरक्षित रहन आग्रह पनि गरेका छन् । सरकारको नेतृत्व “कोरोना संकटसंग जुध्न ब्रिटिश सरकारको प्रयासको नेतृत्व प्रधानमंत्री बोरिस जोनसनले नै गर्नेछन्,” शुक्रबार डाउनिंग स्ट्रीटद्वारा जारी वक्तव्यमा भनिएको छ । यसअघि डाउनिंग स्ट्रीटले प्रधानमंत्री जोनसन बिरामी भएमा परराष्ट्र मंत्री डोमिनिक राबले सरकारको नेतृत्व गर्ने जनाएको थियो ।
इंगल्याण्डका मुख्य चिकित्सा अधिकारी प्रा. क्रिस व्हिटीको व्यक्तिगत सल्लाहपछि प्रधानमंत्री जोनसनको स्वास्थ्य परीक्षण गरिएको थियो । ब्रिटिश महारानी स्वस्थ यसैबीच ब्रिटिश प्रधानमंत्रीको कार्यालयले ९३ वर्षीय ब्रिटिश महारानी एलिजाबेथ द्वितीय स्वस्थ रहेको जनाएको छ । प्रधानमंत्री जोनसनले १६ दिन अघि (मार्च ११ तारिखमा) महारानीलाई भेटेको र त्यस पछि उनीसंग फोनमा कुरा गरेको जनाएको छ। ब्रिटेनमा प्रधानमंत्रीले संसद चलेको बेला हरेक बुधबार राष्ट्राध्यक्षलाई भेटेर सरकारको कामबारे जानकारी गराउने प्रचलन छ। यसअघि ब्रिटेनका राजकुमार चार्ल्समा पनि कोरोना संक्रमण पाइएको उनको कार्यालयले जनाएको थियो ।
७१ वर्षीय राजकुमार चार्ल्स ७२ वर्षीय आफ्नी श्रीमती कमिलकासाथ स्कटल्याण्डस्थित बालमोरलमा एकान्तवासमा बसीरहेका छन् । उनकी श्रीमतीलाई भने संक्रमण देखिएको छैन । ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका संक्रमितहरु भेटिएको पुष्टि भएकोमा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन्। को हुन् बोरिस? ५५ वर्षीय बोरिस भूतपूर्व पत्रकार पनि हुन् लन्डनका पूर्व मेयर बोरिस ब्रिटेनका पूर्व परराष्ट्र मंत्री पनि हुन् । ब्रिटेनले युरोपेली संघ छाड्नु पर्छ भन्ने अभियानका अगुवाहरुमध्ये एक उनी टरिजा मेले आफ्नो पदबाट राजीनामा दिए पछि गत वर्ष ब्रिटेनको प्रधानमन्त्री नियुक्त भएका थिए ।
गत डिसेम्बर महिनामा भएको आम चुनावपछि उनको पार्टी थप बहुमतसहित संसदमा आएको थियो। ‘गेट ब्रेग्जिट डन’ भन्ने नारा सहित सत्तामा आएको उनको सरकारले अहिले भने कोरोना संकटबाट मुलुकलाई जोगाउन विभिन्न स्वास्थ्य तथा आर्थिक उपायहरु घोषणा गरिरहेको छ । उनी आफ्नी ३१ वर्षीया पार्टनर क्यारी सिमंड्ससंग टेन डाउनिंग स्ट्रिटमा बस्छन् । उनकी पार्टनर अहिले गर्भवती छिन् र उनीहरुले यही ग्रिष्म यामको शुरुमा आफ्नो सन्तानको प्रतीक्षा गरिरहेका छन् ।






