जीएनएन, लन्डन।बेलायतका ७१ वर्षीय युवराज चार्ल्स कोरोना भाइरसबाट संक्रमित भएको उनको कार्यालयले पुष्टि गरेको छ । क्लेरेन्स हाउसले उनको रगत परीक्षणमा भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । उनी हालै हात मिलाउन छोडेर नमस्कार गरेका कारण चर्चामा आएका थिए । उनकी पत्नी ७२ वर्षीय डचेस अफ कर्नवाललाई भने परीक्षण पछि कोरोना संक्रमण नभएको कार्यालयले जनाएको छ । युवराज चाल्सलाई यो भन्दा पहिला स्वास्य्अमा खासै समस्या थिएन । उनी र उनकी श्रीमती अहिले स्कटल्याण्डस्थित बालमोरल क्यासलमा आइसोलेसनमा रहेर स्वास्थ्य लाभ गरिरहेको क्लेरेन्स हाउसले जानकारी गराएको छ ।
उक्त निवास बेलायतको शाही परिवारको सम्पत्ति हो। आइतबार उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार रगत परीक्षणका लागि पठाइएको थियो । मंगलबार सांझ मात्रै प्रिन्स अफ वेल्स चार्ल्सलाई कोरोना भएको पुष्टि भएको हो । ९३ वर्षीय ब्रिटिश महारानी एलिजा बेथ द्वितीय भने अहिले ९८ वर्षीय आफ्ना पति प्रिन्स फिलिपसंग लन्डन नजिकै विन्डसर क्यासलमा बसीरहेकी छिन् ।चार्ल्समा भाइरसको संक्रमण कसरी भयो भन्ने बारे हाल अनुसन्धान भइरहेको छ। पब्लिक हेल्थ इंगल्याण्डका अनुसार मंगलबारसम्ममा ब्रिटेनमा ८,०७७ जना कोरोना भाइरसबाट संक्रमित भएको पाइएको र ४२२ जनाको मृत्यु भैसकेको जनाएको छ ।






