कोरोना भाइरस : विश्वव्यापी महामारी बन्ने चिन्ता

जेनेभा । विश्वभरि नयाँ संक्रमणका संख्या बढ्दै गर्दा कोरोना भाइरसको प्रकोपले विश्वव्यापी महामारीको स्वरूप लिने चिन्ता बढेको छ । हालसम्म अधिकांश संक्रमण चीनभित्र नै पाइए पनि पछिल्ला केही दिनमा चीनबाहिर पनि यसको संक्रमण तीव्र रूपमा फैलिएको छ । दक्षिण कोरिया, इटली र इरानजस्ता देशमा कोरोना भाइरस (कोभिड–१९) भनिने स्वासप्रश्वासको रोग गराउने संक्रमण रोक्न संघर्षरत रहेका छन् ।

विश्वका विभिन्न भागहरूमा कुनै संक्रामक रोगले एकैपटक खतरा उत्पन्न गराएमा त्यसलाई ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भनिन्छ । अहिलेसम्म सो नयाँ कोरोना भाइरस संक्रमण रोक्ने कुनै खोप उपलब्ध छैन । कोरोना भाइरसको संक्रमण हाल विश्वमा ७९ हजार ५२४ जनामा देखिएको छ । यस्तै, २ हजार ६ सय २६ जनाको मृत्यु भइसकेको छ भने २५ हजार १ सय ५७ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।

चीनबाहेक अन्य २६ देशमा कोरोना भाइरसको महामारी फैलिएको छ । त्यसले सयांै मानिस संक्रमति भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । सोमबार अफगानिस्तान, कुवेत र बहराइनमा समेत पहिलो कोरोना भाइरस संक्रमण पाइएको जनाइएको छ । ती सबै घटनामा इरानबाट फर्किएका मानिसमा सो संक्रमण भेटिएको हो ।

यसअघि डब्लूएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले भाइरस संक्रमण रोक्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका थिए । बेलायतको इस्ट एङ्लिया विश्वविद्यालयका स्वास्थ्य सुरक्षासम्बन्धी प्राध्यापक पाउल हन्टरले पनि चीनभन्दा बाहिर बढ्दो संक्रमण ‘अत्यन्त चिन्ताजनक’ भएको बताए ।

दक्षिण कोरियाका कोरोना फैलिने क्रम तीव्र दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपति मुन जाए–इनले ‘अभूतपूर्व, शक्तिशाली’ कदम चाल्न आह्वान गरेका छन् । तर, पनि कोरोना भाइरसबाट संक्रमितको संख्या बढेको जनाइएको छ ।

केही दिनदेखि संक्रमितको संख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १ सय ६१ जनामा संक्रमण देखिएको छ । दक्षिण कोरियामा कुल संक्रमितको संख्या ८ सय ३३ पुगेको सोमबार जनाइएको छ । त्यसैबीच कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ८ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

चीनमा मृत्यु हुनेको संख्या २ हजार ५ सय ९२
कोरोना भाइरसको संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या २ हजार ५ सय ९२ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले सोमबार जनाएका छन्  । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ ।

तर गत चार दिनदेखि यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या लगातार करिब १ सय रहेको जनाइएको छ । पछिल्लो चार दिनदेखि ज्यान गुमाएका यी व्यक्ति सबै हुबेई प्रान्तका बासिन्दा रहेका छन् । भाइरसको सुरुवात भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत संक्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेई प्रान्तको रहेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरि सबैभन्दा उच्च सतर्कता अपनाइएको बताएका छन् । संक्रमित हुनेको संख्या एकाएक अत्यधिक तीव्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उनले जानकारी दिएका थिए । आगामी केही दिन संक्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए । ‘सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ । ती सबै काम विज्ञको सुझावका आधारमा गरिएको छ,’ उनले भने ।

इरानमा १२ जनाको मृत्यु
इरानमा फैलिएको कोरोना भाइरसका कारण सोमबारसम्ममा मृत्यु हुने व्यक्तिको संख्या १२ पुगेको संसद्का एक प्रवक्ताले बताएका छन् । संसद्को बन्द सत्रमा सरकारी अधिकारी असादुल्लाह अब्बासीको भनाइ उद्धृत गर्दै अर्धसरकारी समाचार संस्था इस्नाले भाइरसको संक्रमण ४७ जनामा देखिएको जनाएको छ ।

इटालीमा चार जनाको मृत्यु
इटालीमा नयाँ कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लोपटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै संक्रमणबाट मृत्यु भएको हो । इटालीको लोम्बार्डीमै यसअघि अरू तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *