दूतावासको घुम्ती सेवा नटिङ्घममा
लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपाली समुदायमाझ गएर आफैं सर्वसाधारणको सुविधाका लागि घुम्ती सेवा उपलब्ध गराएको छ । आइतबार फेब्रुअरी १६ तारिकका दिन दूतावासको घुम्ती सेवाले नटिङ्घममा आफ्नो सेवा प्रदान गरेको हो ।
बेलायतस्थित नेपाली दुतावासले गैरआवासीय नेपालीलाई प्रदान गरिने अफिसियल सुविधा घुम्ती सेवामार्फत् दिन थालेको हो । दूतावासले बेलायतको नटिङ्घम शहरको विलब्रोको लाइब्रेरीमा कार्यालय स्थापना गरी सुविधा प्रदान गरेको हो ।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन, तृतीय सचिव तेजेन्द्र रेग्मी र सहयोगी राजकुमार गिरीको टोलीले सेवा प्रदान गरेको नेपाली दूतावासले जनाएको छ ।
दुतावासले दिने विभिन्न सेवामध्ये नेपाली पासपोर्टको नवीकरण, बेलायती पासपोर्टमा नोपाल जाँदा भिसा लगाउने काम, एनआरएन कार्ड बनाइ दश वर्षसम्म भिसा लगाइ रहने झञ्जटबाट मुक्त हुने कामजस्ता सुविधा प्रदान गरिएको छ ।
नेपाली समाज नटिङघम यूकेको सहकार्यमा सेबा प्रदान गरिएको हो । स्थानीय लाइब्रेरीमा कम्प्युटर राखेर दूतावासका कर्मचारी र स्वयंसेवकहरुले फाराम भरेको नेपाली समाज नटिङघम यूकेका अध्यक्ष दीपक सापकोटाले जनाए ।






