काठमाडौं, २२ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका वरिष्ठ प्राविधिकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार टेलिकमका वरिष्ठ प्राविधिक अधिकृत अनिलकुमार आचार्यले गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेको र त्यसको स्रोतसमेत नखुलेको अनुसन्धानबाट पत्ता लागेको छ ।
सुपरभाइजर पदमा सेवा प्रवेश गरेका आचार्यले आर्जन गरेको सम्पत्ति अस्वाभाविक रहेकाले अनुसन्धान हुँदा गैरकानुनी देखिएकाले मुद्दा दायर गरिएको जनाएको छ । आचार्यले रु ७९ लाख आठ हजार १६७ रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । आचार्यले काठमाडौँ महानगरपालिका वडा नं ७ र ८ मा आफ्नो श्रीमती शोभाकुमारी उपाध्यायको नाममा घडेरी खरिद गरी घरसमेत निर्माण गरेको खुल्न आएको र त्यसको स्रोत नखुलेको पाइएको छ ।
वरिष्ठ प्राविधिक आचार्यलाई हदैसम्मको कारबाहीको माग राखी मुद्दा दायर गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस्तै सेवाग्राहीले आफ्नो आवादी जग्गामा रहेको रूख कटानका लागि जिल्ला वन कार्यालय बर्दियामा दिएको निवेदनमाथि कारबाही गर्दा घुस मागेको आरोपमा नापी कार्यालय बर्दियाका सर्वेक्षक भीमलाल आचार्य थलोमा नै पक्राउ परेका छन् । उनले सेवाग्राहीसँग रु १० हजार घूस लिएको आयोगको टोलीले फेला पारेको थियो । आचार्यमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
टेलिकमका प्राविधिकसँग अकूत सम्पत्ति






