आवुधावी । यूएईको आवुधाबीमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा ३ नेपाली महिलाको ज्यान गएको छ । ज्यान गुमाउने नेपालीमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अवुधाबीले जनाएको छ । तामाङको ठेगाना खुल्न बाँकी छ ।
दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन ।
मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आवुधाबीको मफरक, एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ । बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ ।
एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान ५ः३० बजे दुर्घटना भएको थियो । गुडिरहेको लरीमा ठोक्किएर बस दुर्घटना भएको थियो ।






