तक्दीर अधिकारी
सिड्नी । पृथ्वीनारायण शाहको २९८औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस सिड्नीमा भव्यरुपमा मनाइयो । सिड्नीको अर्बनमा भएको कार्यक्रम नेपाली पेज डट कम र विनर सर्कलले आयोजना गरेको हो । पृथ्वीनारायण शाहको तस्बीरमा माल्यापर्णबाट सुरु भएको उक्त कार्यक्रम मदनमणि अधिकारीले सञ्चालन गरेका थिए ।
राष्ट्र र राष्ट्रियताको सवालमा सम्पूर्ण नेपाली एक हुनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका पूर्वप्रवक्ता तथा सामाजिक अभियान्त डिला खरेलले जानकारी दिए । आफूले सन् २०११ देखि नै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रम अस्ट्रेलियामा आयोजना गर्दै आएको खरेलले बताए । उनले भने, ‘त्यसैलाई हामीले निरन्तरता दिएका हौं, राष्ट्र र राष्ट्रियताका सवालमा हामी नेपाली विभाजित हुनुहुँदैन ।’ खरेल यतिबेला पौष २७ लाई ‘इन्टरनेशनल नेपाल डे’को नामले मनाउनु पर्ने योजनाका साथ लागिपरेका छन् ।
नारी कुञ्जकी संयोजक सन्ध्या साह, अन्जना कार्की बस्नेत र उषा बारियाले द्विप प्रज्वलन गरेको उद्घाटन गरिएको कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले पृथ्वीनारायण शाहले एकीकरण गरिदिएकाले नै नेपाल विश्व मानचित्रमा परिचित भएको बताए ।
कार्यक्रममा पोखरा समाजका सचिव समित केसी, भापाली समाजका अध्यक्ष उमेश पोखरेल, लुमिया नेपाली समाजका अध्यक्ष प्रकाश हुमागाई, दिनेश जोशी, पे्रम सापकोटा, बुद्धि डल्लाकोटी, पूर्णनाथ घिमिरे, डिल्ली ढकाल, दिनेश पोखरेल, रोशन खतिवडालगायतले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका थिए ।






