सिड्नी । चर्चित लोक गायक पुरुषोत्तम न्यौपानेको एकल लोक गायन सम्पन्न भएको छ । शालिग्राम इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद् संयोजक देव गुरुङ प्रमुख अतिथि थिए ।
गायक न्यौपानेले झन्डै दुई घन्टा दर्शकलाई लोक गीतले मनोरञ्जन दिएका थिए । उनका गीतमा दर्शक झुमेका थिए । कालीगण्डकी गाउँपालिका–५ बलाम बेलटारीमा जन्मिएका अग्रज लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर लोकगीत संगीतको क्षेत्रमा प्रवेश गरेका हुन्।
हालसम्म हजार बढी गीतमा आवाज दिएका न्यौपानेले राष्ट्रिय गीत, भजन एवं तीजका गीतहरू समेत बजारमा ल्याएका छन्। न्यौपानेले स्वर दिएका गीतमा ‘ऐना हेरेर’, ‘मिर्मीमुनि काली थुनेको’, ‘लर्के जोवन’, ‘श्रीखण्ड चन्दन’, ‘ऐना हेरेर’, ‘फूलको बासना’, ‘झिलझिल सितारा’, ‘रुन्छ नि मन किन रुँदैन’ र ‘घामजस्तो चम्किलो जून हुँदैन’ लगायत चर्चित छन्।

विगत लामो समयदेखि नेपाली गीत संगीतमा चर्चित गीतमा कलम चलाएका गीतकार हुन सूर्य न्यौपानले उनले सञ्चालन गरेको शालिग्राम इन्टरटेनमेन्टले नेपाली गीत संगीत उत्पादन गरेको दशकौं बितिक्यो । नेपाली सांगीति क्षेत्रलाई थप उचाइ दिन शालिग्राम इन्टरटेनमेन्ट लागिपरेको छ । अस्ट्रेलियामा आधिकारिक रूपमा रजिस्टर भएर शालिग्राम इन्टरटेनमेन्टले नेपालका चर्चित कलाकार र संगीतको साथमा परिवारिक दोहोरी रेस्टुरेन्ट संचालन गरने भएको छ । नेपाली कलाकारलाई अस्ट्रेलियामा ल्याएर खुल्न लागेको यो पहिलो दोहोरी रेस्टुरेन्ट हुनेछ ।
छोटो र मीठा रुपमा सञ्जोग न्यौपानेले सञ्चालन गरेको उक्त कार्यक्रममा गायक पुरुषोत्तमले ‘बाँचे ल्याउला सम्पत्ति झोलामा, मरे यतै विदेशको खोलामा’ बोलको गीत गाउँदा सहभागीको आँखा रसाएको थियो ।






