लन्डन । नयाँ वर्ष २०२० लाई विश्वभर उल्लासमय रुपमा स्वागत गरिएको छ। बेलायतको चिसो, मध्य रातमा फायरवर्क्स तथा शुभकामना साटासाट गर्दै लन्डनवासीहरुले नयाँ वर्ष २०२० लाई स्वागत गरेका छन् । थेम्स नदीको किनारमा भेला भएका एक लाख भन्दा बढी मानिसहरुले राति ठिक १२ बजे नयाँ वर्ष शुरु हुँदा गरिएको फायर वर्क्स प्रत्यक्ष हेरेका थिए।
बेलायतमा बस्ने नेपालीहरुले पनि नयाँ वर्ष २०२० लाई मन्दिर गएर, साथीहरुसंग भेटघाट रमाइलो गरेर तथा कतिपयले घरमै बसेर दिल खोलेर स्वागत गरेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा यहाँका विभिन्न शहरस्थित कैयौं नेपाली रेष्टुरेन्टहरुमा आयोजित विशेष सांगीतिक कार्यक्रमहरु स्थानीय नेपालीहरुले भरिभराउ बनेका थिए । बेलायतका कतिपय नेपाली संघसंस्थाले विशेष शुभकामना कार्यक्रम नै आयोजना गरेर नयाँ वर्ष मनाएका छन् ।

ट्रान्सपोर्ट फर लन्डनले यात्रुहरुलाई राति २३:४५ देखि बिहान ०४:३० सम्म निशुल्क यात्राको व्यवस्था गरेको थियो। लन्डनका मेयर सादिक खानले लन्डन संसार भरिका मानिसहरुका लागि खुला रहेको फेरी दोहोराएका छन्। उनले ब्रिटेनले युरोपेली संघ छाडे पनि लन्डन युरोपेलीहरुका लागि संधै खुला रहने बताए।
लन्डन स्थित नेपाली दूतावासको संयोजनमा यो वर्ष भिजिट नेपाल इयर २०२० को अवसरमा वर्ष भरि नै बेलायत, आयरल्याण्ड र माल्टामा विभिन्न कार्यक्रमहरु राखिएका छन् ।
लन्डन नेपालन्युजसंग कुरा गर्दै ब्रिटिश साम्सद तथा लेबर पार्टीका नेता वीरेन्द्र शर्माले भने, सन् २०२० मा बेलायतबाट कम्तिमा एक लाख पर्यटक नेपाल लैजाने अभियानमा मेरो पूर्ण समर्थन र सहयोग रहने छ।त्यस्तै सत्तारुढ कन्जरभेटिभ पार्टीका साम्सद डा म्याथु अफोर्डले यो वर्ष आफुले नेपालको भ्रमण गर्ने जनाएका छन्।
बेलायतस्थित पर्यटन व्यवसायी एबं ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी)उपाध्यक्ष बिराज भट्टका अनुसार नयाँ वर्ष २०२० मा लन्डन-काठमाडौँ सिधा उडान शुरु गर्न पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्। “यो विषय हामीले पर्यटन मंत्री योगेश भट्टराई संग पनि उठाएका थियौं। यसमा जस्तो सुकै सहयोग गर्न हामी तयार छौं,” उनले भने।लण्डन -नेपाल सिधा उडान शुरु भए बेलायती पर्यटक नेपाल भित्र्याउन मद्दत पुग्ने उनको विश्वास छ।






