काठमाडौ ,१९ चैत । बहुराष्ट्रिय कम्पनी टेलियासोनेराको मुख्य लगानी रहेको एनसेलको डाटासेन्टरमा जडान गरेको शक्तिशाली डिजेल जेनेरेटरका कारण स्थानीयबासी बस्नै नसक्ने अवस्था हुँदा पनि एनसेलले प्रदूषण घटाउन चासो दिएको छैन । पीडित स्थानीयबासीलाई क्षतिपूर्ति तथा उपचार खर्च नदिँदा जेनेरेटरकै कालो धूँवाले क्यान्सरग्रस्त बनेकी वृद्धको उपचारमा समस्या आएको छ । ललितपुरको जावलाखेलस्थित डाटासेन्टरमा ‘पावरब्याकअप’को रुपमा जडान गरिएका चारवटा जेनेरेटरका कारण वरपरका आधा दर्जनभन्दा बढी परिवार पीडित बनेका छन् । पीडितलाई राहत दिने भन्दै केही समयअघि एकपटक वार्ता भए पनि खासै वास्ता नगरेको र घर नै छाडेर जान भनेको एक पीडितले बताए । विगत दुई वर्षदेखि चलाइएको उक्त जेनेरेटरका कारण स्थानीयबासी सुवास भण्डारीको परिवार बिचल्लीमा परेको छ । चारवटा जेनेरेटरले फालेको धूवाँको कारण आफ्नी आमालाई क्यान्सर भएको पीडित भण्डारी बताउँछन् । आर्थिक दैनिकबाट
एनसेलले बनायो बिचल्ली






