लन्डन । बेलायतका विभिन्न शहरमा चलचित्र ‘शुभलभ’ प्रदर्शन हुने भएको छ । बेलायत यात्रामा रहेका चलचित्र निर्देशक सन्तोष लोहनीका अनुसार चलचित्र ‘शुभलभ को पहिलो शो साउथ ह्यारो स्थित गोल्डेनसीप रेस्टुरेन्टको सभाहलमा दिउसो १ बजे सुरु हुने भएको छ।

यसैगरी चलचित्र ‘शुभलभ’ १२ तारिख प्लमस्टेड वर्किङ मेन्स क्लब र १८ जनवरी रेडिङको द वेयरहाउसमा प्रदर्शन गरिने भएको हो ।यसैगरी बेलायतका अन्य शहरमा पनि प्रदर्शनको तयारी हुदै गरेको निर्देशक लोहनीले जानकारी गराए । बेलायतपछि ‘शुभलभ’ युरोपका विभिन्न देशमा पनि प्रदर्शन गरिने छ ।यो चलचित्रका लाइन प्रोडिउसर प्रकाश कडरिया युरोप निवासी भएकाले पनि युरोपमा यो चलचित्र अत्याधिक नेपाली दर्शकले हेर्नेमा निर्माता -निर्देशक विश्वस्त छन् ।
‘शुभ लभ’ लोहनीको निर्देशन रहेको दोस्रो चलचित्र हो । यसअघि उनले ‘नारी’ निर्देशन गरेका थिए । महिला कथामा आधारित ‘नारी’ बनाएका लोहनीले ‘शुभ लभ’ भने प्रेमकथामा आधारित रहेर बनाएका छन् ।

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त चलचित्रका निर्माता धर्मराज सुवेदी हुन् । चलचित्रमा हरिहर अधिकारी र नवनायिका कृस्टिन पौडेलको मुख्य भूमिका छ । अग्रज कलाकार सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्या थापा पनि मुख्य भूमिकामा छन् ।
प्रेम कथामा आधारित भएपनि चलचित्रमा ‘कमेडी’ खुराक पर्याप्त भएकाले दर्शकले भरपुर आनन्द लिन सक्ने निर्देशक लोहनीको विश्वास छ । हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायत देशका विभिन्न मनोरम स्थलमा फिल्म सुटिङ भएकाले यसले पर्यटक पनि तान्ने निर्देशक लोहनीको भनाइ छ ।
जनवरी ५ बाट बेलायतका विभिन्न शहरमा प्रदर्शन हुने निर्देशक लोहनीले जानकारी दिँदै चलचित्र हेर्न सबैलाई आग्रह गरेका छन ।






