काठमाडौं । सिन्धुपाल्चोकको खाडीचौर–जिरी सडकखण्डअन्तर्गत सुनकोशी गाउँपालिका–७ को छ किलो भन्ने स्थानमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा.४ख ४४६८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेको हो ।
मृत्यु हुनेमा ८ जना महिला, तीन जना पुरुष, दुई बालक र एक बालिका रहेको बताइएको छ । ति मध्ये दोलखा भिमेश्वर नगरपालिकाकी जुनु तामाङको मात्रै पहिचान खुलेको छ । घाइते भएकामध्ये १२ जनाको सिन्धुसदाबहार अस्पताल खाडीचौरमा उपचार भईरहेको र गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिएका छन् ।
बस विहान करिव आठ बजेतिर दुर्घटना भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । बसमा करिव चालिस यात्रु रहेको बताइएको छ । भक्तपुरबाट शनिवार कालिञ्चोक भगवति दर्शनका लागि तिर्थयात्री बोकेर गएको बस फर्कदा दुर्घटना भएको बताइएको छ ।






