लण्डन। बेलायतमा बिहीबार भएको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको छ। बिहिबार भएको आमनिर्वाचनमा सत्तारुढ कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएसंगै बेलायत युरोपेली संघबाट बाहिरिने निश्चित भएको छ । शुक्रबार बिहानसम्म प्राप्त नतिजा अनुसार प्रधानमंत्री बोरिस जोनसनले नेतृत्व गरेको कन्जर्भेटिभ पार्टीले ३६२ स्थान जितेर संसदमा स्पष्ट बहुमत हासिल गरेको छ भने मुख्य विपक्षी लेबर पार्टीले २०३ स्थान जितेको छ। ६५० सदस्य संख्या रहेको हाउस अफ कमन्समा ६४८ पदको नतिजा प्राप्त भै सकेको छ।
यो चुनावलाई बेलायत युरोपेली संघबाट बाहिरिने सम्झौता ब्रेग्जिट बारेको दोश्रो जनमत संग्रहको रुपमा पनि हेरिएको थियो । बोरिस जोनसनले आफूले बहुमत पाएमा ३१ जनवरी २०२० भित्र यूकेलाई ईयुबाट वहिर्गमन गराउने वाचा गरेका थिए। लेबर नेता जेरेमी कोर्बिनले भने ईयूमै रहने कि नयाँ सम्झौतामार्फत् बाहिरिने भन्ने विकल्प अर्को जनमत सङ्ग्रहमार्फत गर्न प्रस्ताव गरेका थिए। यो चुनावलाई उनको राजनीतिक असफलताको रुपमा पनि हेरिएको छ।
कोर्बिनले र्को आम चुनावमा आफुले लेबर पार्टीको नेतृत्व नगर्ने जनाएका छन्। यो पाँच वर्षभन्दा कम समयमा बेलायतमा भएको तेस्रो आमनिर्वाचन हो। शुक्रबार बिहान आफ्ना पार्टीका कार्यकर्ता र समर्थकहरुलाई सम्बोधन गर्दै प्रधानमंत्री जोनसनले अब ब्रिटेन युरोपेली संघबाट बाहिरिने दोहोराए।
उनले आफ्नो सरकारले स्कुलहरु र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा लगानी बढाउने, अस्ट्रेलियाको जस्तो आप्रवासन नीति अपनाउने र देशको हरेक क्षेत्रमा अवसर पुराउने बताए। “देशमा परिवर्तन ल्याउन हामी आफै परिवर्तन हुनु पर्छ,” उनले भने। उनले आफ्नो मन्त्रिपरिषद्मा पनि केही हेरफेर गर्ने अपेक्षा गरिएको छ।
ब्रेक्जिट पछि वेलायतको अर्थतन्त्रमा मन्दी आउन सक्ने र घर जग्गाको भाउमा ठूलो गिरावट आउने आसंका गरिएको छ।बेलायतमा हाल सम्म कुनै पनि नेपालीमुलका उम्मेदवार निर्वाचनमा बिजयी हुन सकेका छैनन् ।






