‘अप्रिल फूल’ कसरी मनाउन थालियो ?

काठमाण्डु, १८ चैत– अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल १ लाई संसारका धेरै मुलुकमा मुर्ख दिवस मान्ने गरिन्छ ।

यद्यपी यो दिवस संसारको कुनै पनि मुलुकले औपचारिक रुपमा मनाउँदैनन् । यो दिन एक अर्कालाई हानी नपु¥याई मुर्ख बनाएर मनाइन्छ । अर्थात १ अप्रिललाई मजाक गर्ने दिवसका रुपमा लिइन्छ ।

अप्रिल फूल किन र कहिलदेखि मनाउन थालियो भन्ने एकीन दस्तावेज उलव्ध छैन । तर मध्यकालमा यूरोपका धेरै सहरहरूमा २५ मार्चदेखि नयाँ वर्ष मनाउन सुरु गरिन्थ्यो ।जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो । तर जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे उनीहरूले अप्रिल १ मा नयाँ बर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले ।

सोह्रो शताव्दीको मध्यमै जनवरी १ लाई नयाँ बर्षको पहिलो दिन मान्न थालिसकिएको थियो । तर युरोपका अन्य धेरै सहरहरूमा त्यसबेला अप्रिललाई नयाँ वर्षको नयाँ महिना मान्ने गरिन्थ्यो ।

अप्रिल १ लाई मुर्ख दिवस मनाउनुको अर्को एक कारण पनि दिइन्छ । अंग्रेज साहित्यकार चान्सरको ‘क्यान्टरबरी टेल्स’ जुन सन १३९२ मा लेखिएको थियो, त्यसमा उनले ‘सिन मार्च बिगन थर्टी डेज एण्ड टु’ उल्लेख गरे । चान्सरको मतलव सम्भवतः मार्च महिनाको ३२ औं दिन अर्थात अप्रिल २ पछि इन्ग्ल्याण्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसंग भएको बर्ष दिन हुन्छ भन्ने थियो ।  तर पाठकले ३२ मार्च भन्ने बुझे । खासमा मार्च महिना ३१ दिनको हुन्छ । त्यही मार्च महिनाको ३२ औं दिनलाई ‘अप्रिल फूल’ मान्न थालियो भन्ने विश्वास पनि गरिन्छ ।