पर्सा, २६ असार । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले साउनभित्रै संविधान जारी हुने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले संविधानको प्रारम्भिक मस्यौदालाई जनताको राय सुझावका आधारमा परिमार्जन गरी आगामी साउन १५ देखि २० गतेभित्र संविधान जारी गर्ने विषयमा दलहरुबीच अनौपचारिक सहमति भएको बताउनुभयो ।
उहाँले एमाओवादीलाई राष्ट्रपति, प्रधानमन्त्रीभन्दा मुलुकलाई सङ्क्रमणकालको भूमरीबाट निकाली सबैको अधिकारलाई स्थापित गर्ने संविधान चाहिएको प्रस्ट पार्नुभयो ।
शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन र संविधान घोषणामा भारतको सर्मथन जुटाउन दिल्ली जान लागेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । उहाँले नेपालमा शान्ति प्रक्रियाको सुरुवात गर्न भारतले ठूलो सहयोग गरेकाले शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने बेला पनि भारतको समर्थन रहोस् भन्ने उद्देश्यका साथ आफ्नो भारत भ्रमण हुन लागेको अध्यक्ष दाहालले स्पष्ट गर्नुभयो ।
उहाँले नेपालमा शान्ति स्थापित भएको देखन नचाहनेहरुले एक मधेस एक प्रदेश र हिन्दू राष्ट्रको बखेडा झिकी संविधान निर्माण प्रक्रियालाई बाधा पु-याउने प्रयास गरिरहेको बताउँदै त्यस्ता तत्वबाट आम नेपाली जनता सावधान हुनुपर्दछ भन्नुभयो ।
साउनभित्रै संविधानः प्रचण्ड






