तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भिजिट नेपाल २०–२० विदेशमा रहेका नेपालीका लागि चुनौति र अवसर दुवै भएको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजदूत दाहालले यस्तो बताएका हुन् । उनले भने, जनवरी ७ मा भिजिट नेपाल २०–२० को औपचारिक उद्घाटन संसारभरि नै हुनेछ । पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईलाई अस्ट्रेलिया आमन्त्रण गर्ने तयारी भइरहेको छ । मन्त्री भट्टराई अस्ट्रेलिया आउने संकेत प्राप्त भएको राजदूत दाहालले जानकारी दिए ।

आउँदो वर्ष तीनवटा महत्वपूर्ण कार्यक्रम राजदूतावासले आयोजना गर्ने तयारी गरिरहेको उनले बताए । भिजिट नेपाल २०–२०, राजधानी क्यानभेरामा आयोजना हुने वृहद सांस्कृतिक कार्यक्रम र नेपाल र अस्ट्रेलियाबीच दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्ष गाँठ सफल पार्न एनआरएनए र नेपाली समुदायको सहयोग महत्वपूर्ण हुने राजदूत दाहालको भनाइ थियो । सहयोगका लागि एनआरएन र नेपाली समुदायबाट प्रतिबद्धता आइसकेकाले कार्यक्रम सफल बनाउन आफूलाई उत्साह थपको राजदूत दाहालको भनाइ थियो ।
नेपाल र अस्ट्रेलियाबीच लगानीका क्षेत्र, सांस्कृतिक पक्ष, नेपालीहरुको समस्यामा दूतावासले अभिभावकत्व भूमिका निर्वाह गर्ने भन्दै राजदूत दाहालले भने, ‘अस्ट्रेलियामा नेपालीहरु बलियो रुपमा छन् । केही गरौं भन्ने भावना छ, यसले मलाई उत्साह जगाएको छ ।’

आउँदो फेब्रुअरीमा ६० औं वर्ष गाँठ, भिजिट नेपाल २०२०, नेपाली फेस्टिबल क्यानबेरामा विगतभन्दा भव्य बनाइनेछ, राजदूत दाहालले भने, यसका लागि नेपाली समुदायको सहयोग र सुझाव चाहिएको छ । प्रतिबद्धता आइसक्यो, भव्यताका साथ सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
क्यानभरामा हुने सांस्कृतिक कार्यक्रमका लागि सिड्नीबासी नेपाली समुदायबाट सहयोगको आश गरिएको छ ।
विभिन्न समुदायबाट ६० वर्षको वर्षगाँठ कार्यक्रम कसरी मनाउने भन्ने विषयमा नेपाली समुदायसँग छलफल भइरहेको छ । ६० वर्षसम्म कस्ता कार्यक्रम भए, त्यो झल्काउने किसिमको हुनुपर्ने सुझाव आएको राजदूत दाहालले बताए । उनले भने, ‘यी कार्यक्रमलाई दूतावासले अवसर र चुनौति दुवैका रुपमा लिएको छ ।’

गैरआवासीय नेपाली संघ एनएसडब्लुका संयोजक देव गुरुङले राजदूत दाहाल तथा एनआरएन आईसीसी पदाधिकारीलाई सम्मान गरेका थिए । नेपाल सरकारले अघि सारेको भिजिट नेपाल २०–२० लाई कसरी भव्य र सभ्य रुपमा सफल बनाउन सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक गुरुङले बताए । भिजिट नेपाल २०–२० कार्यक्रम नेपाल र नेपालीको प्रतिष्ठाको विषय भएकाले सहयोग गर्न सबैसँग आह्वान गर्दै संयोजक गुरुङले अन्तरक्रियामा सहभागीले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।
एनआरएनए उपाध्यक्ष मन केसीले भिजिट नेपाल २०–२० का विषयमा केन्द्रले धारणा बनाइसकेको र ती धारणा सबै एनसीसीमा छिट्टै आइपुग्ने बताए । नेपाल सरकारले अघि सारेको कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण एनआरएनए एकजुट भएर लाग्नुपर्ने धारणा उपाध्यक्ष केसीले राखेका थिए । यस्तै एनआरएन अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले नेपाल र अस्ट्रेलियाबीच दौत्य सम्बन्धको ६० औं वर्षगाँठ भव्य रुपमा मनाउनुपर्ने बताए ।

एनआरएन (एनएसडब्लु) सचिव दिपक पहारीले सञ्चालन गरेको कार्यक्रममा आईसीसी महिला कोअर्डिनेटर भूमा लिम्बू, ओसियना क्षेत्रीय संयोजक होम पाण्डे र जर्नल कन्सुलर दीपक खड्काले पनि बोलेका थिए ।







