निर्वाचनका बेला भएको अनियमितताबारे कानुनी उपचार खोज्दिनँ : कुल आचार्य

तक्दीर अधिकारी
काठमाडौं । गैरआवासीय नेपाली संघको निर्वाचनमा आफूलाई हराउन विभिन्न कोणबाट षड्यन्त्र भएको आरोप अध्यक्षका उम्मेदवार कुल आचार्यले लगाएका छन् । उनले भनेका छन्, विभिन्न कोणबाट षड्यन्त्रमूलक ढंगले आफूलाई पराजित गरे पनि संस्थाको हितका लागि आफूले कानुनी उपचार नखोज्ने उल्लेख गरेका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–

गैर आवासीय नेपाली संघको काठमाडौँमा सम्पन्न नवौं विश्व सम्मेलनमा मलाई साथ, सहयोग र समर्थन दिनु हुने सम्पूर्ण आदरणीय मतदाता, प्रतिनिधि, अग्रजहरु, शुभेच्छुक संघसंस्था लगायत मिडियाका मित्रहरुप्रति आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु । तपाईंहरु सबैको स्नेह पाउंदा म अत्यन्त खुसी छु र आफुलाइ भाग्यमानी ठानेको छु। मैले १५ वर्षको उमेरमा श्रद्धेय पिताजीलाई गुमाएँ। मेरा मातापिताको सामाजिक भावनाबाट प्रेरित भएर सामाजिक कामको शुरुवात गरें। एनआरएनए सांच्चै दुख परेका तथा देश बाहिर बसोबास गरिरहेका नेपालीलाई सेवा गर्ने संस्था हो भनेर अरु कतै नलागीकन काम शुरु गरें।

गएको १२ वर्ष देखि निरन्तर संघमा काम गर्दैगर्दा संसारभरि रहनु भएका साथीहरुको माया ममता पाएँ। धेरै सिक्ने मौका पाएँ। सिकेर केही गर्ने प्रयत्न पनि गरें। फलस्वरूप एनआरएनएको केन्द्रीय उपाध्यक्षसम्म पुगें। मेरो काम देखेर आदरणीय अग्रजहरु तथा संसारभरिका साथीहरुले मलाई प्रोत्साहन दिनु भयो। सबैको आग्रहलाई स्वीकार्दै मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरें। जब निर्वाचन प्रक्रिया शुरु भयो, एनसीसी बेलायतमै विवाद उत्पन्न गर्ने प्रयास गरियो। सो विवाद मिलाएर काठमाडौँ आउंदै गर्दा सचिवालयको अनियमितता देखेर दुख लाग्यो। संधै सबै कामहरु रातरात अनियमित रुपले अगाडी बढाइयो। सदस्यता रजिस्ट्रेशनमा चरम अनियमितता गरिएको जगजाहेर गर्न चाहन्छु। नियमसंगत हुनु पर्ने कामहरुमा पनि अनुनय विनय गर्नु पर्ने अवस्था आयो। फेरी पनि संस्थाको बृहत् हितलाई ध्यानमा राखेर मैले संयम अपनाएँ।

अन्तिम मतदाता नामावली प्रकाशन नगरिकनै उम्मेदवारी दर्ता गर्ने काम गरियो। धेरै फर्जी मतदाताहरु तयार गरियो। चुनाव सम्पन्न भई सके पछि पनि कति मत खस्यो भन्ने विवरण सार्वजनिक गरिएन। विना मुचुल्का मतगणना शुरु गरियो। बहालवाला निर्वाचित जनप्रतिनिधि जापानको प्रतिनिधि बनेर मतदान गरेको घटना सहित नेपाल फर्कीसकेका सैयौं व्यक्तिहरुलाई मतदाता नामावलीमा समावेश गरी योजनावद्ध ढंगले मतदान प्रक्रियामा सहभागी गराइयो। यी सबै अनियमतिताहरुलाई सहंदै, मेरो छाती ठूलो बनाउंदै , विभिन्न कानूनी प्रक्रियामा जान सक्ने अवस्था हुंदांहुदै पनि म एनआरएनएको बृहत्तर हितकालागि अस्वभाविक भएपनि प्रक्रिया स्वीकार्दै भविष्यमा पनि निरन्तर रुपमा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्दछु ।

सबै एनआरएनहरुलाई समेट्ने गरी बलियो गैर आवासीय नेपाली संघ बनाउन मैले जोड दिंदै आएको छु। यो अभियानमा मलाई साथ र समर्थन दिनु हुने सबै मित्रहरु तथा अग्रजहरू प्रति म हार्दिक आभार व्यक्त गर्दछु। हाम्रो तर्फबाट केही कमी, कमजोरी भएको भए साथीहरुसंग क्षमायाचना गर्दछु। आगामी दिनमा पनि तपाई सबै साथीहरुको यसै गरी माया र सहयोग पाइरहने विश्वास लिएको छु।

संघको केन्द्रीय कार्य समितिमा निर्वाचित मेरा मित्र कुमार पन्त लगायत सम्पूर्ण निर्वाचित साथीहरुलाई हार्दिक बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना दिन चाहन्छु। मेरो टिममा रहेर मेरो चुनावी अभियानमा सघाउनु हुने मेरा परिवारजन, युके तथा संसारभरिका मित्रहरु र सीमित श्रोत साधनका बावजुद दिनरात खट्नु हुने नेपालस्थित साथीहरुप्रति म हृदयदेखि नै आभार व्यक्त गर्दछु।

कुल आचार्य

अध्यक्ष पदको उम्मेदवार, एनआरएनए आइसीसी मिति: १८ अक्टोबर २०१९ काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *