विश्वकप फुटबल छनोट : नेपालले अस्ट्रेलियाको सामना गर्दै

तक्दीर अधिकारी
सिड्नी । विश्वकप फुटबलको एसियाली छनोट खेलअन्तर्गत नेपालले आज बिहीबार अस्ट्रेलियाको सामना गर्दैछ । राजधानी क्यानवेराको जिआईओ रंगशालामा हुने खेल स्थानीय समयअनुसार अपरान्ह ५ बजे सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय फुटबलमा अस्ट्रेलिया, नेपालले सामना गर्न लागेको अहिलेसम्मको सबैभन्दा उच्चवरीयताको प्रतिद्वन्द्वी हो । नेपाल हाल विश्व वरीयतामा १६१ औं स्थानमा छ भने अस्ट्रेलिया त्यो भन्दा ११७ स्थान माथि ४४ औं स्थानमा छ ।

नेपालले रक्षात्मक रणनीति अपनाउने छ भने अस्ट्रेलियाको पनि नेपालसँग हार्ने कुनै योजना छैन । बरु बढीभन्दा बढी गोल गरेर कतार विश्वकप यात्रामा ऊ नजिक पुग्न चाहन्छ । अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले घोषणा गरिसकेका छन् की उनीहरू नेपाल विरुद्ध आक्रमक खेल्नेछन् र बढीभन्दा बढी गोलको प्रयास गर्नेछन् ।

विश्व कप छनोटमा नेपालले बेहोरेको दक्षिण कोरियासँग १६–० र चीनसँग १२–० को हार अहिलेसम्मको उच्च गोल खाएका नराम्रा कीर्तिमान हुन् । यसपटक विश्वकप छनोटको सुरुवातमा नै कुवेतसँग ७–० ले हार बेहोरेको हुनाले कतिपय फुटबल समर्थकमा यस्तो संशय जाग्न पनि सक्छ। त्यही कुवेतलाई अस्ट्रेलियाले ३–० ले हराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *