एनआरएन यूकेको साधारणसभा स्थगित, जानकारीसभामार्फत् निर्वाचन तालिका सार्वजनिक

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन तालिका सार्वजनिक भएको छ । फार्नबरोस्थित भिलेज होटलमा सम्पन्न जानकारी सभामा निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो ।

नियमित साधारणसभा स्थगित गरेर एनआरएन यूकेले जानकारीसभामार्फत् निर्वाचन तालिकामार्फत् सार्वजनिक गरेको छ । साधारणसभा स्थगित गरेर महँगो होटलमा केही सल्लाहकार र कार्यसमिति सदस्यहरुको न्यून उपस्थितिमा निर्वाचन तालिका किन सार्वजनिक गर्न प¥यो भन्ने विषयले यतिबेला एनआरएन यूके तातेको छ । आफ्नो कार्यकालको अन्तिममा अध्यक्ष योगकुमार फगामीको टिमलाई असफल देखाउन एउटा पक्षले यस्तो बखेडा सिर्जना गरेको चर्चा गर्नेहरु पनि छन् ।

यस्तो छ निर्वाचन तालिका

सेप्टेम्बर १४ मा हुने एनआरएन यूकेको निर्वाचनको लागि उम्मेदवारी दर्ता भने अगस्ट १८ तारिखमै गराइने भएको छ । अगस्ट ११ को साँझ ५ बजे मतदाताको प्रथम नामावली प्रकाशन, १३ अगस्ट दिउँसो ३ बजेसम्म नामावली सच्चाउने एवम् थप कागजात बुझाउने, १४ अगस्ट साँझ ५ बजे मतदाताको दोस्रो नामावली प्रकाशन, १५ अगस्ट दिउँसो ३ बजेसम्म मतदाता नामावलीउपर दाबीविरोध र सोहिदिन साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।

त्यसैगरी, १८ अगस्टको बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता, दिउँसो साढे २ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन, साँझ ५ बजेसम्म दाबी विरोध र साँझ ८ बजे उम्मेदवारहरुको दोस्रो नामावली प्रकाशन गरिने भएको छ ।

उम्मेदवारी फिर्ताको लागि २० अगस्टको दिउँसो १ बजेसम्मको समय दिइनेछ भने सोहि दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदानको कार्यक्रम सेप्टेम्बर १४ को बिहान ८ देखि साँझ ८ बजेसम्म रहनेछ । निर्वाचन समितिले बेलायतभरमा कुल १ दर्जनको हाराहारीमा मतदान केन्द्रहरु राख्नुपर्ने अवस्था रहेको बताएपनि केन्द्रहरु कहाँकहाँ रहने यकिन भइनसकेको बताएको छ ।

कार्यक्रमका कसले के भने

निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड डमर घले (एमबिई) र सहसंयोजक शिवजी श्रेष्ठले निर्वाचन तालिका सार्वजनिक गर्दै स्वतन्त्र र निश्पक्ष निर्वाचनको लागि कुनै कसर बाँकी नराख्ने संकल्पसहित आफुहरु खटिएको जानकारी गराएका थिए । एनआरएन यूकेको इतिहासमै सबैभन्दा बढि १३ हजार ८ सय ९० जनाले यसपटक सदस्यता आवेदन बुझाएका छन् । जसमध्ये स्वीकृत हुने सदस्यहरुले आसन्न निर्वाचनमा भाग लिन पाउनेछन् ।

यसअघि आइतबारको लागि तोकिएको साधारणसभा अन्तिम समयमा स्थगित गर्दै जानकारीसभा मात्र गरिएको थियो । सो अवसरमा अध्यक्ष योगकुमार फगामीले सदस्यताको लागि प्राप्त आवेदनहरुको रुजु गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी गराएका थिए । सोहि अवसरमा विधान संशोधन समितिका संयोजक योगेन क्षेत्रीले प्रस्तुत गरेका विभिन्न संशोधन प्रस्तावहरुमाथि सहभागीहरुले आआफ्ना राय, सुझाव पेश गरेका थिए । प्राप्त सुझावहरुलाई मनन गर्दै संशोधनको प्रस्ताव आगामी अधिवेसनमा पेश गर्ने संयोजक क्षेत्रीले बताए ।

आइसिसी पूर्व सल्लाहकार एवम् आसन्न निर्वाचनमा आइसीसी महासचिवका उम्मेदवार डा हेमराज शर्माले विधान संशोधनका विषयमा जानकारीमुलक सम्बोधन गरेका थिए ।

त्यसअघि शुभकामना मन्तव्य राख्दै आइसिसी उपाध्यक्ष कुल आचार्यले विश्वकै सबैभन्दा बढि सदस्य भएको राष्ट्रिय समन्वय परिषद बन्न सफल भएकोमा बेलायतको टिमलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए । प्रवक्ता रमेश सरांगकोटीले सञ्चालन गरेको कार्यक्रममा सचिव तारानाथ भण्डारीले स्वागत मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *