कुस्तीका स्वर्ण पदकधारी यादव रिङ छोडेर खोलाको बगरमा

काठमाडौं, १३ चैत । नेपाली खेलकुदमा कुनै पनि सफल खेलाडी खेलबाट टाढा रहनु नौलो विषय होइन । नेपाली खेलकुद जगत्मा कुनै एक समयमा खेल खेलेर प्रतिष्ठा आर्जन गरेपछि खेलाडी जब देशकै लागि आवश्यक हुने गर्छ तब ती खेलाडीले खेल जीवन नै त्यागिसकेको हुन्छ । कुस्ती नेपाली खेलकुदको धेरै सफल खेल नभए पनि दक्षिण एसियाली खेलकुद प्रतियोगितामा यसले पदक नेपाललाई पदक दिलाइसकेको छ । नेपालको सीमावर्ती क्षेत्रमा भारतीयहरुसँग नेपाली खेलाडीहरुले यो खेल खेल्ने गर्छन् । नेपालमा कुस्ती खेलबाट अन्तर्राष्ट्रिय पदक हात पार्ने एक सफल खेलाडी हुन् – जनक यादव । जनक दक्षिण एसियाली खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीसमेत हुन् ।
पचास वर्षीय यादव कुस्तीका लागि कुनै समय नेपाली खेलकुद जगत्मा ताराका रुपमा परिचित थिए । उनी कुस्तीमा कुनै समय ठूला पहलवानहरुलाई लडाउँथे तर अहिले उनी त्यसलाई छोडेर ढुङ्गा लडाउने, अनि गिट्टी र बालुवा चाल्ने काम गरेर जीवन धानिरहेका छन् ।
चाहेर पनि उनी अहिले कुस्ती खेल्ने अवस्थामा छैनन् । त्यसको एकमात्र कारण हो, आर्थिक समस्या । यादव हाल सिरहा जिल्लाको अयोध्या नगरमा बस्ने गर्छन् ।
छ जना परिवारलाई धान्न उनी अहिले दिनभरि बालुवा चाल्ने गर्छन् । प्रशिक्षक बनेर नयाँ प्रतिभा जन्माउने यो समय उनी दिनभर खोलाको बगरका गिट्टी र बालुवा छानिरहेका छन् ।
यादवले सन् १९९५ मा भारतमा भएको सातौँ दक्षिण एसियाली खेलकुदमा ९० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । यादवले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा १२ पदक हात पारिसकेका छन् ।
खेल्नमा मात्र होइनन्, राम्रो कुस्ती खेलाडीहरु जन्माउने काममा समेत कुनै समय उनी अगाडि थिए । कुस्ती खेलमा निकै सफलता हात पारिसकेका यादवले करिब एक सय जना कुस्तीबाजलाई तालिम दिइसकेका छन् । उनले नै जन्माएका कैयाँै कुस्तीबाजमध्ये केहीले खेलबाटै सफलता हात पारेका छन् ।
खेलमै लागेर देशका लागि केही गर्ने सोच बनाएका उनी अहिले भने निकै कष्टकर जीवन बिताउन बाध्य छन् ।
देशका लागि आफ्नो आधा उमेर समर्पण गरेका यादवलाई अहिले खेल्न त परै जाओस् दुई छाक टार्न र छोराछोरीलाई विद्यालय पठाउनसमेत हम्मे हम्मे छ ।
राज्यले सहयोग गरे देशका लागि खेल खेल्न आफू तयार रहेको यादव बताउँछन् । उनी भन्छन् – “कुस्ती मेरो बच्चादेखिको सपना हो तर खेल खेलेरमात्रै बाँच्न नसकिने रहेछ । यदि राज्यले मलाई केही सहयोग उपलब्ध गराए पुनः खेल क्षेत्रमा फर्कन सक्छु ।”
यादव खेलकुद लाग्ने भावी पुस्ताका लागि एक राम्रो मार्गदर्शक भएकाले समयमै खेलकुद हेर्ने निकायले आवश्यक सहयोग र संरक्षण गर्न जरुरी छ । त्यसो नभए कुनै पनि खेलाडीले देशका लागि पसिना बगाउने स्थिति बन्न सक्दैन ।