एनआरएनए न्यूजिल्यान्डको निर्वाचन : जसले जिते पनि नेपालीको जीत

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डमा नयाँ नेतृत्वका लागि गत शनिबार निर्वाचन सम्पन्न भयो । निर्वाचन परिणामअनुसार लालबहादुर केसीले नेतृत्व गरेको टिम विजयी भयो । निर्वाचनपछि अब एनआरएन न्युजिल्यान्ड कसरी अगाडि बढ्छ भन्ने चर्चाले ओसियाना क्षेत्रमा ब्यापकता पाएको छ ।

एनआरएनए न्यूजिल्याण्डको संस्थापन पक्ष पहिलो पटक नेतृत्वबाट बाहिरिएको छ । पहिलो पटक समावेशी समूहका केसीको हातमा नेतृत्व पुगेपछि एनआरएन न्यूजिल्याण्ड अब कसरी अगाडि बढ्छ भन्ने चर्चाले ओसियाना क्षेत्रमा व्यापकता पाएको हो ।

पराजित अध्यक्षका उम्मेदवार घनश्याम सापकोटा यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए, उनैले संस्थापन पक्षको नेतृत्व गरेका थिए, उनको टिम पराजित भयो । सापकोटाले भने, ‘सन् २०१७ सम्म सहमतिमै कार्यसमिति गठन हुन्थ्यो, निर्वाचित अध्यक्ष केसीको एनआरएनमा संलग्नता सुरुका दिनमा भेटिन्छ, बीचमा भएको मैले महसुस गरिन् ।’ उनले भने, ‘मेरो कार्यकालमा साथीहरुबाट सक्रिय सहयोग पाइन । सीमित साथीहरुको सहयोगले एनआरएनको काम गरेर संस्थापन पक्षलाई यहाँसम्म ल्याएको हुँ ।’

पराजयलाई कसरी लिनुभएको छ भन्ने जिज्ञासामा सापकोटाले भने, ‘लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएको छ, त्यसैले मैले यो पराजयलाई नकरात्मक रुपमा लिएको छैन, विजयी लालबहादुर केसीले आवश्यकता महसुस गर्नुभयो भने मेरो अनुभव र रचनात्मक सहयोग गर्न चाहन्छु ।’ उनले भने, ‘यो जीत केसी समूहको मात्र होइन, समग्रमा हामी न्यूजिल्याण्डवासी नेपालीको हो । ‘जसले जिते पनि नेपालीकै जीत भएको छ ।’

चुनाव जित्नुभयो, अब के गर्नुहुन्छ भनी नवनिर्वाचित अध्यक्ष केसीलाई सोधिएको प्रश्नमा उनले भने, ‘हामीले परिवर्तनको एजेन्डा अगाडि सारेका थियौं, त्यो एजेन्डा मतदाताले मन पराएर हामीलाई विजयी बनाउनुभयो । सर्वप्रथम मतदातालाई धन्यवाद दिन चाहन्छु । अब हामी एनआरएले गर्ने सबै काम सरल, सहज पारदर्शी बनाउँछौं । अपनत्व ग्रहण गर्ने गरी एनआरएनलाई सबै पहुँच पुग्ने बनाउँछौं ।’ चुनावीमा जे भए पनि सहकार्य गरेर अगाडि बढ्नुको विकल्प हामीसँग छैन, केसीले भने, ‘सबैलाई चित्त बुझाएर एनआरएनए न्युजिल्याण्डलाई अघि बढाउँछु ।’

एनआरएन न्यूजिल्यान्डमा नेतृत्वका लागि भएको यो दोस्रो निर्वाचन हो । यसअघिको कार्यसमिति पनि निर्वाचन प्रकृयाबाट छनोट भएको थियो । त्यसबेला लगभग ९ सय मतदाता थिए । यसपटक १६ सय ९२ मतदाता पुगे । निर्वाचन संयोजक बबिता श्रेष्ठका अनुसार यसपटक ८४ प्रतिशत मतदान भयो ।

यो दुई वर्षको अवधिमा झन्डै दोब्बर मतदाता संख्या बढ्नुलाई धेरैले अर्थपूर्ण ढंगले हेरेका छन् । न्यूजिल्यान्डमा झन्डै १८ हजार नेपाली समुदाय बसोबास गर्छन् । एनआरएनए सदस्यता लिने न्यूजिल्यान्डमा त्यत्ति कठिन छैन । विद्यार्थी भिषामा २ वर्ष बसिसकेका विद्यार्थीले एनआरएनको सदस्यता बन्न पाउँछन् । त्यसैले मतदाताको संख्या बढ्नुलाई खासै छलफलको विषय बनाउन नहुने तर्क निर्वाचित अध्यक्ष केसीको छ ।

प्रत्यक्ष रुपमा राजनीतिक आवरण नदेखिए पनि निर्वाचित अध्यक्ष केसीले समावेशी समूहको नेतृत्व गरेको बताइएको छ । संस्थापन समूहको सापकोटाले नेतृत्व गरेका थिए । नेतृत्वका लागि समूहगत रुपमा निर्वाचन लडे पनि एनआरएन न्युजिल्याण्डलाई सामुहिक आवरण दिन नहुने तर्क पूर्वमहासचिव रामराज ओलीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *