काठमाडौं- सत्तारुढ नेकपाभित्रको सैद्धान्तिक विवाद शीर्ष तहबाटै सतहमा आएको छ ।
कार्यशैलीमा असन्तुष्टी प्रकट भईरहेका बेला जनतको बहुदलीय जनवाद जबजका प्रणेता मदन भण्डारीलाई बुझ्ने क्रममा पनि शीर्ष नेताहरुले एक अर्कामाथि छेडखानी गरेका छन् ।
पार्टी एकता भएको एक वर्ष बितिसक्दा पनि एकीकरण प्रक्रिया नसकिएर आजित बनेका नेकपा कार्यकर्ता पछिल्ला दिनमा पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच बढेको तित्तताले बाँकी एकीकरण प्रक्रिया नै के हुने हो भन्ने आशंकामा छन् ।
यस्तो आशंकाका माझ अध्यक्षद्वयले सार्वजनिक समारोहमै त्यस्तै अभिव्यक्ति दिएपछि पार्टी विवाद फेरी एक पटक सतहमा आएको हो ।
शनिबार काठमाडौंमा मदन भण्डारीको जन्मजयन्ती मनाउन भएको कार्यक्रममा दुई अध्यक्षबीच एकअर्काप्रति राम्रै छेडखानी चल्यो ।
तत्कालीन एमालेले बोकेको जबजको सिद्धान्तका प्रणेता भण्डारीलाई आफु अनुकुल व्याख्या गर्दै उनीहरुले एक अर्कालाई ब्यङ्ग्य गरे ।
अध्यक्ष दाहालले ओली तर्फ इंकित गर्दै भण्डारी आग्रह र पूर्वागह्र भन्दा माथि उठेको नेता हनुहुन्थ्यो भन्दै उहाँमा आफैंले भनेको हुनुपर्छ भन्ने मान्यता थिएन भने ।
दाहालले आफ्नो भनाइ राखे लगत्तै बोल्नुभएका प्रधानमन्त्री ओलीले उहांको भनाइ तर्फ इंकित गर्दै मदन भण्डारी माक्र्सवादी भएपनि अनुचित सम्बन्धका लागि नक्कली कुरा गर्ने सिद्धान्तकार थिएनन् भने ।
एक अर्का प्रति आम जनताले बुझ्ने शैलीमै छेडखानीमा उत्रिएका ओली र दाहालबीच पुरानै सिद्धान्त प्रतिको मोह पनि प्रष्ट झल्किएको थियो ।
दाहालले नेकपाको समाजवादमा पुग्ने लक्ष्यसहित अब नेकपाको वर्तमान सिद्धान्त जनताको जनवाद भएको बताए ।
ओलीले त्यसप्रति पनि घुमाउरो पारामा असहमति प्रकट गर्दै पार्टी एकीकरणका क्रममा जनताको जनवादको विचार कार्यक्रम र सिद्धान्त हुबहु नै राखेर त्यसको नाम मात्र परिवर्तन गरिएको बताए ।
नेकपाको शीर्ष तहमै देखिएको यो छेडखानी र पार्टीको सिद्धान्त प्रतिको बुझाइले पार्टी एकता तत्काल नसकिने प्रष्ट संकेत गरेको छ ।
अध्यक्षद्वय ओली र दाहालबीच विवाद बढेको खबरहरु आइरहँदा लामो समयपछि एउटै मञ्चमा देखिएका उहांहरुबाट आएका अभिव्यक्तिले पनि त्यसैलाई पुष्टि गर्ने आधार बनेको देखिन्छ ।






