बेलायतको अल्डरसटमा मोना यूके “दोस्रो” प्रतिस्पर्धात्मक भलिबलकपमा छुट्टाछुट्टै भिडन्त:(फोटो फिचर)

शिव भण्डारी

अल्डरसट । मोना यूकेले आयोजना गरेको दोस्रो खुला भलिबल प्रतियोगिता आइतबार अल्डरसटमा सम्पन्न भएको छ । बेलायतभरका २ दर्जन बढी नेपाली टिमहरु सहभागी प्रतियोगितालाई महिला, पुरुष र भेटेरान गरी तीन विधामा खेलाइएको थियो । कार्यक्रमको उद्घाटन मोना यूके अध्यक्ष दल जुग्जाली, प्रमुख अतिथि काउन्सिलर प्रवेश केसी अतिथि एनआरए यूके उपाध्यक्ष प्रेम गाहा मगर, ब्रिटेनका अन्तर्राष्ट्रिय खेलाडी नेत्र राना एमबिई, नेपालका पूर्व सांसद नरबहादुर पुन लगायतले गरेका थिए।

प्रतियोगितामा महिलातर्फ सालिजा टिम, पुरुषतर्फ बाग्लुंग भलिबल टिम र भेटेरानतर्फ ग्रीनवीच भलिबल टिमले उपाधि हात पारेका छन् । त्यस्तै, छेलो फाल्ने प्रतियोगिता ३४ प्रतिस्पर्धीलाई पछि पार्दै गोर्खा ब्रिगेड ब्याण्डका हिरा गुरुङले जितेका छन् । उनले २ सय पाउण्ड नगद पुरस्कार प्राप्त गरे ।

अल्डरसटको कनर्ट स्कुलको मैदानमा भएको खेलमा महिला तथा पुरुष दुवै विधामा आयोजक मोना यूके टिम दोस्रो बनेको थियो । भेटेरानतर्फ भने फाइनलमा विजेता ग्रीनवीचसंग स्वीण्डनको टिम पराजित बनेको थियो । पुरुष विधाको विजेताले १४ सय पाउण्ड नगद, ट्रफी, प्रमाणपत्र र रनिंग शिल्ड प्राप्त गरे । उपविजेताले ८ सय ५० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाए । विजेताले प्राप्त गरेको शिल्ड मोना यूके उपाध्यक्ष होम रोकाले प्रायोजन गरेका थिए । १६ वटा टिमको सहभागिता रहेको पुरुष विधामा बाग्लुंगका शंकर थापा बेस्ट प्लेयर अफ द टुर्नामेन्ट भए भने मोनाका खेम भण्डारी बेस्ट बल्कर, रुद्र राना बेस्ट लिफ्टर र बाग्लुंगका प्रविन मल्ल बेस्ट स्पाइकर बन्न सफल भए ।

महिला विधाको विजेता सालिजा टिमले नगद ६ सय पाउण्ड , ट्रफी र प्रमाणपत्र तथा उपविजेता आयोजक मोना टिमले ४ सय पाउण्ड नगदसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे । उपविजेताको पुरस्कार एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्यले प्रायोजन गरेका थिए । ६ टिमले भाग लिएको महिला समुहमा सालिजाकी सञ्जु थकाली बेस्ट प्लेयर अफ द टुर्नामेन्ट र विष्णु पुन बेस्ट स्पाइकर तथा मोनाकी लारा बेस्ट बल्कर र विन्चेस्टरकी यामु फगामी बेस्ट लिफ्टर बने । भेटेरानतर्फ विजयी ग्रीनवीच टिमले नगद ७ सय पाउण्ड, ट्रफी, प्रमाणपत्र तथाच उपविजेता स्वीण्डनले ४ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्रसहितको पुरस्कार प्राप्त गरे । उपविजेताको पुरस्कार एनआरएन यूके उपाध्यक्ष प्रेम गाहाले प्रायोजन गरेका थिए । ९ टिम सहभागी भेटेरान समुहमा ग्रीनवीचका ठाकुर गुरुङ प्लेयर अफ द टुर्नामेन्ट र बेस्ट लिफ्टर बन्न सफल भए भने ग्रीनवीचकै संजयदेव श्रेष्ठ बेस्ट बल्कर तथा स्वीण्डनका कृष्ण शेरचन बेस्ट स्पाइकर बने ।

प्रतियोगिताका विजेताहरुलाई आयोजक मोना यूके अध्यक्ष दल जुग्जाली, प्रमुख अतिथि काउन्सिलर प्रवेश केसी, विशिष्ट अतिथि एनआरए यूके अध्यक्ष योगकुमार फगामी र उपाध्यक्ष प्रेम गाहा मगर, ब्रिटेनका अन्तर्राष्ट्रिय खेलाडी नेत्र राना एमबिई, नेपालका पूर्व सांसद नरबहादुर पुन, सेफ एशोसिएसन यूके अध्यक्ष दधि आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए।

म्याग्दीका भूपू खेलाडहिरुलाई रेफ्रीको अभिभारा दिइएको खेलमा प्रमुख रेफ्रीको भुमिका विनेद चन्द र जिवन गुरुङले निभाएका थिए । मोना यूके अध्यक्ष दल जुग्जालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका मुख्य संयोजक उपाध्यक्ष होम रोकाले स्वागत मन्तव्य राखेका थिए भने औपचारिक कार्यक्रम सञ्चालन महासचिव लालबहादुर पुनले गरेका थिए ।प्रतियोगितामा अनिल मल्ल सिता पुर्जा पुन, नेत्र मान गर्बुजा,तारा गर्बुजा मगर ,बिस्नु भण्डारीले बिशेष भूमिका निभाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *