संविधान संशोधनको प्रतिवद्वता पूरा गर्न राजपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा राजपाका सांसद प्रमोद साहले सरकार गठनको समयदेखि नै संसदमा संविधान संशोधनको विषय उठिरहेको हुँदा पनि अहिले सम्म सम्बोधन नभएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री केपी ओली स्वयम्ले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्छु भनिरहदा पनि अझै सम्म संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले सरकार नश्लवादी चिन्तन र सोचबाट ग्रसित भएर बसेको आरोप लगाउँदै राज्यको विभेदकारी नीति विरुद्ध सरकारलाई संविधान संशोधनका लागि रुलिङ गर्न सभामुखसँग आग्रह गरे ।

उनले संविधान बनाउने नै संविधान उलंघन गरेको दाबी गरे । संविधान भन्दा माथि गएर लोकसेवा आयोगले विज्ञापन गरेको तथा राष्ट्रपति र उपराष्ट्रपति भिन्न दलको हुनुपर्नेमा एउटै दलको भएको भन्दै उनले संविधान कार्यान्वयन तर्फ सरकारलाई सचेत गराए । सरकारले संघीयताको मर्म र भावना विपरित आफ्ना कार्यक्रम अघि बढाएको भन्दै उनले संविधान नाजायज औलाद जस्तो भएको टिप्पणी गरे ।

सभामुख कृष्ण बहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुखले सांसद प्रमोद साहलाई बोल्नका लागि समय दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *