चितवन समाजको म्युजिकल नाइट

तक्दीर अधिकारी
सिड्नी । चितवन समाज अस्ट्रेलियाले आदर्शगृह सेल्टर होमको सहयोगार्थ च्यारिटी म्युजिक नाइट कार्यक्रम आयोजना गर्ने भएको छ । एक्सपार्ट एजुकेशन र भिसा सर्भिसले प्रायोजन गरेको उक्त कार्यक्रममा चितवनका गायक सागर आले र युवराज चौलागाई तथा सक्रिय सामाजिक अभियान्ता मीना खरेलको सहभागिता रहनेछ । आउँदो २३ जुन बिहीबार साँझ ६ बजे आयोजना गरेको कार्यक्रम इन्द्रेणी फङ्सन सेन्टरमा हुने समाजका अध्यक्ष छवी सापकोटाले जानकारी दिए ।

च्यारिटी म्युजिकमा सहभागी कलाकार सागर आले पहिलो नेपाल आइडलको शीर्ष चारबाट बाहिरिएका कलाकार हुन् । चितवन नारायणगढ निवासी आले सप्तगण्डकी क्याम्पसमा उच्च शिक्षा हासिल गर्दैछन् । अर्का गायक युवराज चौलागाईं प्रारम्भिक कालमा गायक बन्नलाई धेरै संघर्ष गरेका कलाकार हुन् । गायन क्षेत्रमा एउटा अवसर पाएपछि उनले आफुलाई एउटा राम्रो नेपाली गायकको रूपमा स्थापित गरे । नेफ्टा अवार्ड २०१५ मा चौलागाईले उत्कृष्ट पार्श्व गायकको अवार्ड जितेका थिए ।

कार्यक्रममा सहभागी अर्का पाहुना करुणाकी खानी मीना खरेल हुन् । चार सयभन्दा बढी न्याय माग्दै हिँडेका महिलाहरुलाई न्यायको बाटो देखाइदिने समाजसेवी खरेलको जीवन सरल जीवन छ । न त उनलाई बजारको रमझमतिर ध्यान छ, न त श्रृंगार गर्नतिर । उनलाई दिनरात चिन्ता छ त हाम्रो घरमा रहेका नानीबाबुको कसरी उज्ज्वल भविष्य बनाइदिने र आदर्श गृहमा रहेका दिदीबहिनीहरुलाई कसरी न्याय दिने भन्नेबारेमा ।

चितवनको प्रतिष्ठासँग गाँसिएको उक्त कार्यक्रममा सहभागिताका लागि समाजका उपाध्यक्ष तथा इभेन्ट कोअर्डिनेटर अनिल पोखरेल ले सिड्नीवासी नेपाली समुदायसँग अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *