शिब भण्डारी
लन्डन । बेलायतको नेपाली समुदायमा परिचित यूवा व्यवसायी तथा समाजसेवी दम्पति फत्त थापा तथा सोनिया थापाले बुधबार बकिंघम राजदरबारमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयद्वारा आयोजित क्वीन्स गार्डेन टी पार्टीमा भाग लिएका छन् ।
महारानीले हरेक वर्ष ग्रिष्म याममा बकिंघम राजदरबारमा तीन ओटा तथा स्कटल्याण्डस्थित हलीरुड हाउसमा एउटा गार्डेन पार्टी आयोजना गरी राष्ट्रिय जीवनका लब्ध प्रतिष्ठित तथा सामाजिक कार्यका लागि सुपरिचित व्यक्तित्वहरुलाई आमन्त्रण गर्ने गर्दछिन् ।

बेलायतको राजपरिवारले गएको झन्डै १७० वर्ष देखि चल्दै आएको उक्त परम्परा आफ्नो समुदायमा सकारात्मक काम गरिरहेका व्यक्तित्वहरुलाई सम्मान गर्ने अवसरको रुपमा लिएको छ। सो गार्डेन पार्टीमा महारानीको प्रतिनिधित्व गर्दै युवराज चार्ल्स, उनकी धर्मपत्नी कामिला तथा राजकुमारी एन पनि पार्टीमा सहभागी भएका थिए। ।
थापा दम्पतिले ग्रीनवीच तथा बेक्सलीमा वयोवृद्ध नागरिकहरुका लागि होमइन्सटेड सिनियर केयर नामक कम्पनी संचालन गर्दै आएका छन् । उनको कम्पनीले वृद्धवृद्धाहरुलाई स्याहार गरेर लामो समयसम्म आफ्नै घरमा बस्न सघाउने गरेको छ। थापा दम्पतिले स्किल्स एण्ड केयर ग्रीनवीच नामक एउटा च्यारिटी मार्फत पनि स्थानीय जेष्ठ नागरिक तथा गरिब समुदायका सदस्यहरुलाई सेवा पुराउँदै आएका छन् । थापाको अर्को सफलता- 
यसअघि थापा विश्वमै प्रतिष्ठित मानिने ४२ किमी लामो लन्डन म्याराथनमा दोस्रोपटक मैदानमा उत्रेका थिए ।
अढाई वर्षअघि स्ट्रोकका कारण प्यारालाइसिस भएकी आफनी ७४ वर्षीया आमाप्रति समर्पित गर्दै थापाले उक्त च्यारिटीमा केही सहयोग जुटाउने संकल्पसहित लण्डन म्याराथनमा भाग लिएका थिए। नेपालको पुर्खौली घर गुल्मी भएका सफल ब्यवसायी थापा विगत दुई दशकदेखि लन्डनमा बस्दै आएका छन् ।






