बुवाआमाको शान्तिको कामना गर्दै प्राध्यापक सुवेदीले आयोजना गरे धार्मिक कार्यक्रम

लन्डन । आफ्ना पिताजीको शतवार्षिकीको अवसरमा स्वर्गीय पण्डित होमनाथ सुवेदी तथा स्वर्गीय माता टुकादेवी सुवेदीको वैकुण्ठवासको कामना गर्दै उहांहरुको सम्मान र सम्झनामा प्राध्यापक सूर्यप्रसाद सुवेदी (ओबिइ क्यूसी) ले अर्को महिना बेलायतमा एउटा वैदिक यज्ञ गर्ने भएका छन् ।

आठ दिनसम्म चल्ने सो यज्ञमा प्रा. सुवेदीले पण्डित श्री जगदीश पौडेलबाट ७ दिनसम्म श्रीमद्भागवत महापुराण श्रवण गर्ने, आफ्ना दाजु प्राध्यापक देवीप्रसाद सुवेदीबाट दीक्षामन्त्र लिई ६ पयाबाट ९ पयाको यज्ञोपवित (जनै) धारण गर्ने र द्यौ शान्ति अन्तरिक्षगुं शान्ति, पृथ्वी शान्ति आदिको वैदिक मन्त्रले कामना गरेझैं संसारमा शान्तिको कामना गर्दै हवन गर्ने कार्यक्रम छ । उच्च रुपमा शिक्षित र दीक्षित भएपछि र गृहस्थाश्रम पुरा गर्न लागेको समयमा ९ पयाको जनै धारण गर्ने सुवेदी कुलको परम्परा अनुसार प्रा. सुवेदीले दीक्षा मन्त्र लिई ९ पयाको जनै धारण गर्ने भएका हुन् ।

वैदिक परम्परा अनुसार तीन पयाले देवताहरु ब्रम्हा, विष्णु महेश्वरको प्रतिनिधित्व गर्छन् भने अर्को तीन पयाले देवीहरु गायत्री, सरस्वती र सावित्रीको प्रतिनिधित्व गर्दछन् । त्यसपछिको तीन पयाले ऋगवेद, यर्जुवेद र सामवेदको प्रतिनिधित्व गर्दछन् भने जनैमा भएको गन्थी (जसलाई ब्रम्ह गाथा भनिन्छ) त्यसले अथर्व वेदको प्रतिनिधित्व गर्दछ ।

गायत्रीले वौद्धिकता, सरस्वतीले विद्धता र सावित्रीले व्यवहारिक कार्यको सफलता प्रदान गर्ने मान्यता छ । यज्ञोपवित धारण गर्ने प्रत्येक ब्राम्हणले गुरु ऋण, पितृ ऋण र ऋषी ऋण तिर्ने प्रतिवद्धताका साथ सोही अनुसारको आचरणमा बस्ने परम्परा छ । ‘प्रथमे नार्जिता विद्या, द्धितिये नार्जितम धनं, तृतीय न तप स्तप्तम चर्तुथे किंकरिस्यती’ अर्थात जिन्दगीको २५/२५ वर्षका भागमध्ये पहिलो अवधिमा विद्या आर्जन नगरेमा, जीवनको मध्यकालमा धन आर्जन नगरेमा र तेश्रो अवधिमा यज्ञ, यज्ञादि पूण्य कार्य नगरेमा जिन्दगीको अन्तिम वा चौथो कालमा के नै पो गर्न सकिन्छ र? भन्ने धार्मिक मान्यता अनुसार हालै ६० वर्ष नाघेका प्राध्यापक सुवेदीले यो वैदिक यज्ञ गर्न लागेका हुन् ।

यसका साथै लमजुंग जिल्लामा शिक्षाको ज्योति बाल्नमा अग्रणी भूमिका निर्वाह गरेका धर्मशास्त्रविद् स्वर्गीय पण्डित होमनाथ सुवेदीको सम्मान र सम्झनामा नेपालमा शतवार्षिकी स्मृतिसभा र स्मृतिग्रन्थ प्रकाशन गर्ने कार्यक्रम पनि रहेको छ । प्राध्यापक सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक र बेलायतका ब्यारिष्टर पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *